• होमपेज
  • खेलकुद
  • आर्मीका रमेश मिस्टर काठमाडौं

आर्मीका रमेश मिस्टर काठमाडौं

  • आइतवार, भदौ २२, २०७६
आर्मीका रमेश मिस्टर काठमाडौं

काठमाडौं – नेपाल आर्मीका रमेश कार्कीले मिस्टर काठमाडौंको उपाधि जितेका छन् । राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनलमा रमेशले विभिन्न ६ तौलसमूहका विजेतालाई पछि पार्दै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् ।

रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । उनले सिटी फिट्नेसका उमेश डंगोल (५५ केजी), फिट्नेस ग्यारेजका अमिर थापा (६० केजी), सेप्स टु फिट्नेसका विवेक विष्ट (६५ केजी), फिट्नेस ग्यारेजका मिथुन लामा (७० केजी) र ग्यालेक्सी फिट्नेसका ललित धिमाल (७५ केजी) लाई पछि पारेका थिए । उपाधिसँगै रमेशले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । आफ्नो तौलसमूहमा पहिलो भएवापत रमेशले छुट्टै १५ हजार रुपैयाँ पुरस्कार पनि हात पारे ।

हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए । महिला एथलेटिक्स फिजिक्समा टोटल फिट्नेसकी रोजी पाख्रिन पहिलो, भक्तपुरकी सनम मुल गुठी दोस्रो र वेभ फिजिकल फिटनेसकी जस्मिन लामा तेस्रो भए । जुनियर पुरुष मिस्टर काठमाडौंमा जिमखानाका ओजेशचरण जोशी पहिलो, प्याराडाइस फिट्नेसका किशोर कार्की दोस्रो र द व्यायमशालाका ऋतिक घिमिरे तेस्रो भए ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्पोर्ट्स फिजिक एक सय ७० सेन्टी मिटरसम्ममा फिट्नेस फस्टका ईश्वर शाही, फिट्नेस प्लसका विशुराम केसी र सेप्स टुका राजीव थापा शीर्ष तीन स्थानमा रहे ।

सोही स्पर्धाको एक सय ७० सेन्टी मिटरमाथि जिमखानाका धीरज घर्तीले स्वर्ण, सेप्स टुका गिरीराज रोकाले रजत र बडी ग्यारेजका युवक खानले कांस्य जिते । यी चार स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाए । दुईदिने प्रतियोगितामा एक सय ३६ खेलाडले भाग लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार