काठमाण्डौ । सरकारले कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म वृद्धि गर्ने भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट निर्माणमा जुटेको अर्थमन्त्रालयस्थित बजेट महाशाखाका एक अधिकारीका अनुसार सरकारको नीति तथा कार्यक्रममा सरकारी कर्मचारीको तलब बढ्ने घोषणा भएसँगै १५ देखि ३० प्रतिशतसम्म वृद्धिको तयारी थालिएको हो ।
निजामति कर्मचारीका विभिन्न संगठनहरुले प्रतिशतको आधारमा नभई एकमुष्ट रुपमा समान दरले सबै तहका कर्मचारीको तलब बढाइनुपर्ने माग गरिरहेका भए पनि सरकारले भने प्रतिशतकै आधारमा तलब बढाउन खोजेको स्रोत बताउँछ ।
कर्मचारीको तलब बढाउनैका लागि मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले समेत छलफल थालेको छ । सो समितिले गरेको सिफारिसका आधारमा बजेटमा कतिसम्म तलब वृद्धि गर्ने भन्ने बिषयमा निश्कर्ष निस्किनेछ ।
विगत ३ देखि कर्मचारीको तबल वृद्धि भएको थिएन् । सरकारले चालु आर्थिक बर्षमा कर्मचारीलाई मासिक २ हजार रुपैंयाँ महंगी भत्ता दिँदै आएको छ ।
यसैबीच, सरकारले यो पटक सामाजिक सुरक्षा भत्ता समेत वृद्धि गर्ने घोषणा गरिसकेको छ।
हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क बापत २ हजार पाउँदै आएका छन् । हाल दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् । नेपालमा समाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेका छन् ।