
बाजुरा–भारतको बैङ्गलोरमा कुटपिटपछि बाजुराका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ निवासी २१ वर्षीय गजेन्द्र विश्वकर्मा रहेका छन् ।
उक्त घटनामा संलग्न भएको आरोपमा बुढीनन्दा नगरपालिका–१०, पान्डुसैन डाँडा निवासी अन्दाजी २६ वर्षीय नरेन्द्र चदारा, २२ वर्षीय राम चदारालाई भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । अर्का आरोपित गोबिन्द चदारा लगायतका व्यक्तिहरु फरार रहेको मृतकका दाजु सुरेश विकले बताएका छन् ।
मृतक विश्वकर्माको शव अस्पतालमै रहेको छ भने आफन्तहरुले घटनाको निष्पक्ष छानविन गरी संलग्न व्यक्तिहरुलाई पक्राउ नगरेसम्म शव नउठाउने बताएका छन् । मृतक गजेन्द्र रोजगारीका लागि करिब चार वर्ष देखि भारतको बैङ्गलोरमा बस्दै आएका थिए । पीडित परिवारले फरार आरोपितलाई समेत यथाशीघ्र पक्राउ गरी घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा संलग्न सबै दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
मृतक विश्वकर्माका आफन्तहरुले बाजुराको बुढीनन्दा नगरपालिका घर भई बैङ्गलोरमा बस्दै आएका एकै घरका तीन दाजुभाईको कुटपिटपछि हत्या भएको भन्दै घटनाको निष्पक्ष अनुसन्धान तथा संलग्न दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । उनीहरुबिच आपसमा सामान्य विवाद हुँदा असार २९ गते साँझ गजेन्द्रमाथि कुटपिट गरेको थियो । घाइते गजेन्द्रलाइ उपचारका लागि अस्पताल लगेका थिए । उनको उपचारकाे क्रममा बुधवार मृत्यु भएको उनका दाजु सुरेश विकले बताए ।
पीडित परिवारले न्याय प्राप्तिका लागि आवश्यक कानुनी, प्रशासनिक तथा समन्वयात्मक सहयोग उपलब्ध गराइदिन आग्रह गरेका छन् । सहयोगका लागि प्रवासी नेपाली सम्पर्क मञ्च, भारत – कर्नाटक राज्य समिति लगायत सम्बन्धित निकायसँग पहल गरिदिन अनुरोध गरेका छन् । मृतक गजेन्द्रका दाइ रामचन्द्र विश्वकर्माले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सबै सरोकारवाला निकायसँग अपिल गरेका छन् ।

