
बाजुरा–बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन सबै कर्मचारी, अस्थायी करार तथा राहत प्रकृतिका शिक्षक र जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बुधवार एक सूचना जारी गर्दै उक्त निर्देशन दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारी तथा सम्पूर्ण जनप्रतिनिधिले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण तोकिएको ढाँचामा भरी सिलबन्दी खाममा २०८३ साउन १ गतेदेखि भदौ २५ गतेभित्र कार्यालयमा पेश गर्नुपर्नेछ ।
नगरपालिकाले निर्धारित समयभित्र सम्पत्ति विवरण पेश नगरी जरिवाना सहित सम्पत्ति विवरण पेश गर्ने अवस्था आएमा सो को जिम्मेवारी सम्बन्धित व्यक्तिले वहन गर्नुपर्ने सूचनामा उल्लेख छ। सूचनासँगै कर्मचारी तथा जनप्रतिनिधिका लागि सम्पत्ति विवरण भर्ने छुट्टाछुट्टै विवरण फारामसमेत उपलब्ध गराइएको जनाएको छ ।



