बिहिबार, असार २५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अन्तर्वार्तापछि विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले मागिन् माफी

अन्तर्वार्तापछि विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले मागिन् माफी

  • बिहिबार, असार २५, २०८३
सेयर गर्नुहोस् :
अन्तर्वार्तापछि विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले मागिन् माफी

सुर्खेत–टेलिभिजन अन्तर्वार्तामा अछाम र छाउपडी प्रथासम्बन्धी दिएको अभिव्यक्तिपछि विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले सार्वजनिक रूपमा माफी मागेकी छन्। उनले फेसबुकमार्फत आफ्नो भनाइबाट अछामवासीको भावना आहत भएको स्वीकार गर्दै हृदयदेखि क्षमा याचना गरेकी हुन्।

न्युज २४ टेलिभिजनको एक कार्यक्रममा सन्ज्यालले, ‘अछामको मान्छे अमेरिकामा बस्नुहुन्छ रे, तर त्यहाँ पनि छाउगोठ छ रे, ठाउँ परिवर्तन गरे पनि चेतना परिवर्तन भएन,’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन्। यो भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना भएको थियो।

विवादपछि जारी स्पष्टीकरणमा सन्ज्यालले अमेरिकामा रहेका एक शुभचिन्तकसँग भएको कुराकानीका आधारमा यो विषय उल्लेख गरेको बताएकी छन्। आफूले अमेरिकाको अवस्था प्रत्यक्ष रूपमा नदेखेको र अहिले त्यसको पुष्टि गर्न नसक्ने भएकाले आफ्नो अभिव्यक्तिप्रति पुनः क्षमा मागेको उनले उल्लेख गरेकी छन्।

सन्ज्यालले आफू लामो समयदेखि छाउपडी प्रथाविरुद्ध सचेतनामूलक अभियानमा सक्रिय रहेको बताएकी छन्। आफ्नो उद्देश्य अछाम वा अछामवासीको प्रतिष्ठामा आँच पुर्‍याउने नभई महिनावारीका बेला महिलाले सुरक्षित, सफा र सम्मानजनक वातावरणमा बस्न पाउनुपर्ने सन्देश दिनु रहेको उनको भनाइ छ।

उनले छाउगोठमा बस्न बाध्य हुँदा बलात्कार, सर्पदंश तथा अन्य घटनाबाट ज्यान गुमाएका महिलाप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै अछाममा भएका घटनाबारे जिल्ला प्रहरी कार्यालय तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यांकका आधारमा १९ जनाको मृत्यु भएको संख्या उल्लेख गरेको पनि स्पष्ट पारेकी छन्।

यता अछामका स्थानीयले भने छाउपडी प्रथा अमानवीय र विभेदपूर्ण अभ्यास भएकाले यसको अन्त्य हुनुपर्नेमा कुनै विवाद नरहेको बताएका छन्। तर चर्चा कमाउन वा आलोचना गर्नका लागि अछामलाई मात्र छाउपडीको प्रतीकका रूपमा प्रस्तुत गर्नु गलत भएको उनीहरूको भनाइ छ।

उनीहरूका अनुसार अछामका हजारौं नागरिक देश–विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गरिरहेका छन्। सुदूरपश्चिममा छाउपडी तथा जातीय विभेद अन्त्यका लागि सुरुआती अभियान सञ्चालन गर्ने जिल्लामध्ये अछाम अग्रपङ्क्तिमा रहेको र सरकारी निकाय, सामाजिक संस्था तथा स्थानीय समुदायको प्रयासले धेरै स्थानमा छाउपडी प्रथामा उल्लेखनीय कमी आएको उनीहरूको दाबी छ।

स्थानीयले महिनावारीका बेला महिलाको बसाइ स्वास्थ्य, सरसफाइ र व्यक्तिगत सहजतासँग सम्बन्धित विषय भएको उल्लेख गर्दै जबरजस्ती गोठ वा छाप्रोमा बस्न बाध्य बनाउने, छोइछिटो गर्ने वा अपमान गर्ने जस्ता विभेदपूर्ण अभ्यासको अन्त्य हुनुपर्ने बताएका छन्। समस्या जहाँ छ, त्यहीँ समाधान खोज्नुपर्ने तर कुनै एक जिल्ला वा सम्पूर्ण समुदायको छवि बिग्रिने गरी भ्रमपूर्ण अभिव्यक्ति दिन नहुने उनीहरूको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार