
बाजुरा–चर्चित महिला ‘सोलो राइडर’ शीतल गिरी ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेकी छन् । सुदूरपश्चिम भ्रमणका क्रममा बाजुरा पुगेकी गिरीले लापरबाहीपूर्ण ढङ्गले मोटरसाइकल चलाएको भिडियो आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।
उक्त भिडियोमा गिरीले एक हातले मोटरसाइकलको ह्यान्डल समातेकी र अर्को हातले गीतमा अभिनय गरिरहेको देखिन्छ । भिडियोमा उनले सवारी चलाउँदा आवश्यक सावधानी नअपनाएको स्पष्ट देखिन्छ ।
बाजुराको सदरमुकाम मार्तडी क्षेत्रमै लापरबाहीपूर्ण ढङ्गले सवारी चलाएको पाइएपछि ट्राफिक प्रहरीले उनीमाथि कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि गिरीलाई ५०० रुपैयाँ जरिवाना गरिएको बताएका छन् । साथैं उनले पहिलो पटकको उल्लङ्घन भएकाले जरिवानासँगै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन सचेत समेत गराइएको जानकारी दिए ।
जरिवाना तिर्दै गर्दा गिरीले आफूलाई आफू पहिलो पटक कारबाहीमा परेको भन्दै यस विषयमा जानकारी नभएको र अबदेखि ट्राफिक नियम पूर्ण रूपमा पालना गर्ने बताएकी छन् ।
पछिल्लो समय सवारी नियम उल्लङ्घनका कारण दुर्घटनाका घटना बढ्दै गएपछि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि प्रहरीले निगरानी र कारबाही दुवैलाई तीव्र बनाउँदै आएको छ ।


