
टेक बहादुर बुढा– बाजुराको पूर्वी उत्तरी क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै नागरिकहरुले सरकारी सेवा सहज रूपमा प्राप्त गर्न थालेका छन्। लामो समयदेखि सामान्य प्रशासनिक सेवाका लागि समेत सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता झेल्दै आएका त्यहाँका नागरिकहरु अहिले आफ्नै क्षेत्रबाट सहज रुपमा सेवा प्राप्त गरिरहेका छन् ।

जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका नागरिकहरुलाई अब सेवा आफ्नै क्षेत्रबाट उपलब्ध हुन थालेपछि समय, खर्च र दुःख दुवैमा कमी आएको स्थानीयले बताएका छन्।
२०८३ साल वैशाख १ गते पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै कोल्टीमा इलाका प्रशासन कार्यालयसँगै नापी र मालपोत कार्यालय स्थापना गरिएको थियो । सरकारले सदरमुकाम पुगेर मात्रै नागरिकता लगायतका अन्य प्रमाणपत्र लिन नागरिकले भोग्नु पर्ने सास्ती कम गर्न सदरमुकाम मार्तडीबाट करिब ४१ किलोमिटर दुरीमा रहेको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरेर सेवा प्रवाह हुन थालेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई राहत भएको छ ।
यसअघि नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र बनाउन, सिफारिस लगायत आवश्यक कागजात प्रमाणीकरण तथा अन्य प्रशासनिक कामका लागि चार–पाँच दिन लगाएर कष्टपूर्ण यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने अवस्था रहेको थियो । चार वटै स्थानीय तहका नागरिकहरु प्रशासनिक सरकारी सेवाका लागि करिब हप्तादिन समय लाग्ने तथा करिब २०–२५ हजार रुपैयाँ खर्च गर्नु पर्ने बाध्यता रहे पनि अहिले कोल्टीमै सेवा उपलब्ध हुँदा सहजता भएको हिमाली गाउँपालिका–६ का स्थानीय दलबहादुर रोकायाले बताए । उनले भने,“पहिले नागरिकता, परिचयपत्र लगायतका कामका लागि अनेकौं दुःख भोगेर मार्तडी पुग्नु पर्थ्यौ तर अहिले ती सेवाहरु कोल्टीमै पाउँदा खुसी छौं, हामीलाई निकै सुविधा भएको छ ।”

इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाहीले कार्यालय स्थापनासँगै सेवा लिनका लागि दैनिक करिब सयको हाराहारीमा सेवाग्राही पुग्ने गरेको भन्दै सहज रुपमा सेवा प्रवाह भइरहेको बताएका छन् । चार वटै स्थानीय तहबाट विभिन्न सेवाका लागि नागरिकहरु पुग्ने गरेको भए पनि कार्यालयमा कहिले कहीँ बिजुली आउने जाने गरेकोले केही समस्या हुने गरेको उनले बताए । कार्यालय प्रमुख शाहीका अनुसार इलाका प्रशासन स्थापना भएको साढे दुई महिनाको अवधिमा त्यहाँबाट एक हजार बढीले नयाँ नागरिकता, ५८१ बढीले नागरिकताको प्रतिलिपी र एक हजार ४८० बढीले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएर कोल्टीमा इलाका प्रशासनसँगै नापी र मालपोत कार्यालय स्थापना गरेको हो ।
त्यस क्षेत्रका नागरिकहरुले नागरिकता बनाउन लगायतका कामका लागि आउन मार्तडी–कोल्टी सडकमा यातायात सेवा सहज नहुनु, सर्वाधिक विकट गुम्बा, बिच्छ्या, मुक्तीकोट जस्ता दुर्गम गाउँ हालसम्म पनि सहज यातायातको पहुँचमा नहुँदा थप समस्या भोग्दै आएका थिए । अहिले त्यहाँका नागरिकहरुलाई नागरिकता, राष्ट्रिय परिचयपत्र तथा नापी कार्यालय र मालपोत कार्यालयबाट हुने कामकाजका लागि मार्तडी पुग्नु पर्ने बाध्यता हटेको छ । त्याँहा इलाका प्रशासन कार्यालय स्थापना गर्न लामो समयसम्म याँहाका जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला सहितको पहल कदमीपछि उक्त प्रक्रिया यसअघि कांग्रेस–एमाले नेतृत्वको सरकारले नै अगाडि बढाएको थियो ।
कोल्टीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि ती सेवाहरू स्थानीय स्तरमै उपलब्ध हुन थालेका छन्। यसले नागरिकलाई सरकारी कार्यालयप्रतिको पहुँच बढाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाएको सरोकारवालाहरुले बताएका छन् । स्थानीयवासीका अनुसार कार्यालय स्थापनाले आर्थिक भार मात्र घटाएको छैन, सरकारी सेवा लिनुपर्ने झन्झट पनि धेरै हदसम्म कम भएको छ।
कोल्टीमा इलाका प्रशासन, नापी र मालपोत कार्यालय स्थापना हुनु एउटा कार्यालय थपिनु मात्र नभई, बाजुरा जस्ता दुर्गम क्षेत्रका नागरिकको घरदैलो नजिकै राज्यको उपस्थिति र सेवाप्रतिको पहुँच विस्तार भएको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।


