
आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपाल रहेकै समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन् । खेल सवा ३ बजेद्खि कोलकातामा सुरु हुनेछ । यस्तै आजको तेस्रो खेलमा भने सबैभन्दा बढी नजर रहनेछ । समूह ‘ए’ कै खेलमा आयोजक र भारत र अमेरिकाबीचको खेल साँझ सवा ७ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।
खेलअघि भव्य उद्घाटन समारोह पनि हुने तय छ । उद्घाटन समारोहमा भारतीय कलाकारहरु ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन् । यी चार जनाको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाइने आईसीसीले जनाएको छ । नेपालले भने आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।
