
सामाजिक सञ्जालमा विशेष गरी पशुहरूलाई तड्पाई तड्पाई मारेको देख्दा बलि प्रथाको बारेमा मेरो मनमा केही तर्कहरू आए । ती तर्कहरू औपचारिक शिक्षा लिदै गर्दा हिन्दू दर्शनको अध्ययनको क्रममा बुझेका र तत्सम्बन्धी केहि भिडियो हेरी प्राप्त जानकारीका आधारमा राख्दै छु । यी सबै सत्य र सही कति हदसम्म होलान् वा छन् त्यो छुट्टै विषय होला र यससम्बन्धी गहन बुझाइ र जानकारी अरु विद्वत व्यक्तिमा पनि होला तर मैले प्राप्त गरेको ज्ञानका आधारमा हिन्दू दर्शनमा बलि प्रथाको विषयमा केही जानकारी यहाँ राख्ने प्रयास गरेको छु ।
हिन्दू धर्म विश्वको सबैभन्दा पुरानो धार्मिक तथा दार्शनिक परम्परा हो, जसमा विविध र बहुआयामिक विचारधाराहरू पाइन्छन् । यिनै विचारधारामध्ये एउटा विवादास्पद र बहसको विषय बनेको परम्परा बलि प्रथा हो । यो प्रथामा देवी-देवताहरूलाई प्रसन्न पार्न पशु वा अन्य वस्तु बलिदान गर्ने चलन रहिआएको छ । तर हिन्दू दर्शन आफैंमा अत्यन्त गहिरो, विविध र मानवीय मूल्यमा आधारित भएकोले बलिप्रथाको समर्थन र विरोध दुवै पक्ष देखिन्छन् । तापनि हिन्दू दर्शनले बलिप्रथालाई निम्न रूपमा हेरेको देखिन्छ ।
१) वैदिक दर्शनमा बलि प्रथा
वेदहरू हिन्दू धर्मका सबैभन्दा पुराना ग्रन्थ हुन् । वेदकालीन यज्ञहरूमा ‘बलि’ भन्ने शब्दको प्रयोग मूख्यतः अन्न, घिउ, सोमरस आदि देवताहरूलाई चढाउने सन्दर्भमा गरिन्थ्यो भन्ने छ । यो बलि बाह्य होममा मात्र सीमित नभएर, आत्मिक शुद्धिको प्रतीकका रूपमा पनि रहेको देखिन्छ । तर केही यज्ञहरू जस्तै अश्वमेध यज्ञ वा नरमेध यज्ञमा जनावर बलिदानको वर्णन गरेको पाइन्छ । ती सबै कार्य विशिष्ट सामाजिक वा राजनीतिक उद्देश्यका लागि गरेको जस्तो देखिन्छ । सबैका लागि अनिवार्य नभएको भन्ने कुरा झल्किन्छ ।
२) उपनिषद् र वेदान्त दर्शनमा
उपनिषद्हरूले बाह्य बलिदानको भन्दा पनि आत्मिक बलिदान अर्थात् अहंकार, लोभ, र मोहको त्यागलाई साँचो बलि ठान्दछ । “अहिंसा परमो धर्मः” जस्ता सिद्धान्तहरू उपनिषद्को आधारशिला रहेका छन् । वेदान्त दर्शनले मानवलाई ब्रह्मसँग एकत्व प्राप्त गर्न प्रेरित गरेको छ । जसका लागि क्रूरता र हिंसा अवरोध मानेको छ । यसैले उपनिषद् र वेदान्तले बलिप्रथाको समर्थन गर्दैनन् र वैकल्पिक आध्यात्मिक अभ्यासमा जोड दिएको देखिन्छ ।
३) पुराण र तान्त्रिक दर्शनमा
पुराणहरूमा विशेषगरी (देवी) शक्ति सम्बन्धी ग्रन्थहरूमा बलिप्रथाको व्यापक वर्णन छ। कालिका पुराण, देवी भागवत आदि ग्रन्थहरूमा देवी काली, दुर्गा लगायत शक्तिस्वरूप देवीहरूलाई पशुबलि दिने परम्परालाई वैधता दिइएको पाइन्छ । विशेषगरी तान्त्रिक मार्गमा बलिप्रथालाई तामसिक पूजा विधिको रूपमा स्वीकार गरेको पाइन्छ। तर यो पनि सबै साधकका लागि नभई केवल विशिष्ट उद्देश्य, विधि र मर्यादामा सीमित रहेको आभास हुन्छ ।
४) योग, साङ्ख्य, न्याय र मीमांसा दर्शनमा
यी दर्शनहरू प्रायः आत्म-शुद्धि, ज्ञान र मुक्ति प्राप्तिमा केन्द्रित छन् । पतञ्जलिको योगदर्शनमा यम र नियमको पालनमा अहिंसा सबैभन्दा पहिला रहेको देखिन्छ । त्यसैले यी दर्शनहरूले बलिप्रथालाई धर्मको आवश्यक अंश मानेर स्वीकार नगरेको देखिन्छ ।
यसरी वर्तमान समयमा समाजको चेतनास्तर बढ्दै जाँदा बलिप्रथाप्रति पुनर्विचार गर्नु पर्ने विभिन्न धारणाहरू पनि सुनिन्छन् । आधुनिक हिन्दू विद्वानहरू, सुधारवादी धार्मिक संस्थाहरू र जनचेतनाले यो परम्परालाई क्रमशः अहिंसात्मक, प्रतीकात्मक वा वैकल्पिक रूपमा परिवर्तन गरिरहेको पनि देखिन्छ । धेरै स्थानमा पशुबलिको सट्टा नरिवल, फूल, फलफूल वा माटोका घैँटा चढाएर पूजा गर्ने चलन पनि बढ्दो रूपमा रहेको छ ।
अन्त्यमा हिन्दू दर्शनमा बलिप्रथालाई एउटै कोणबाट हेर्न सकिदैन । यो धर्मको विविध धाराहरूले त्यसलाई समय, सन्दर्भ र उद्देश्यअनुसार परिभाषित गरेको पाइन्छ । यद्यपि हिन्दू धर्मको मूल मर्म अहिंसा, त्याग र आध्यात्मिक शुद्धि हो भन्ने कुरा सबै दर्शनहरूले साझा रूपमा अँगालेका छन् भन्ने लाग्दछ । त्यसैले वर्तमान समयमा बलिप्रथाको विकल्प खोज्नु, त्यसलाई रूपान्तरण गर्नु र धर्मको नाममा हिंसाको अन्त्य गर्नु नै हिन्दू दर्शनको साँचो अनुकरण हो भन्ने लाग्दछ । कुनै जीवित प्राणीलाई मारेर मानवले उन्नति र पुण्य प्राप्त गर्छ भन्ने कतै आधार देखिँदैन। कुनै समयमा मानवले खास आफ्नो आवश्यकता पूर्तिका लागि यस्ता पशुबलि गरेको र त्यो संस्कारको रूपमा रहेको हो कि त भन्ने पनि लाग्दछ तर तड्पाई तड्पाई मारिएको कसैको जीवनले अर्को कसैका लागि भलो हुन्छ भन्ने कुरामा विश्वास
