
काठमाडौँ—जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार उच्च अदालत दाङको बुटवल इजालसमा निवेदन लिएर पुगेका छन् ।
बैंक जमानत बुझाउँदा पनि थुनामै राख्नेगरी जिल्ला अदालत रुपन्देहीले गत साउन २६ गते जारी गरेको आदेशविरुद्ध रवि उच्च अदालत दाङको बुटवल इजलासमा पुगेका हुन् ।
अदालतमा शाखा अधिकृत एवम् सूचना अधिकारी रामबहादुर कुँवरले जिल्लाको आदेशमा चित्त नबुझेको भन्दै सोमबार रविले निवेदन दर्ता गराएको जानकारी दिए ।
‘बैंक जमानत लिएर रिहा गर्न जिल्ला अदालतले आदेश नदिएपछि त्यसमा चित्त नबुझेको भन्दै उहाँको निवेदन उच्चमा आएको छ’, कुँवरले खबरहबलाई भने, ‘उहाँको निवेदन दर्ता भइसकेको छ । मंगलबार सार्वजनिक बिदा भएकाले सम्भवत: बुधबार यो निवेदन पेशीमा चढेर सुनुवाइ हुनेछ ।’
सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेले बिगो बराबरको बैंक जमानतमा छाड्न माग गरेको निवेदनमा सुनुवाइका क्रममा गत साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामै रहने आदेश गरेको थियो ।
