
वैदिक सनातन परम्परा हजारौँ वर्ष पुरानो सभ्यता हो। यसमा जीवनलाई शुद्ध, पवित्र र धर्मानुकूल बनाउन विविध साधन, प्रतीक र संस्कारहरू अवलम्बन गरिएका छन्। त्यसमध्ये कुश (दर्भ) एउटा अद्भुत देन हो, जसलाई देवता, ऋषि र पितृहरूको आसनका रूपमा लिइन्छ।
कुशको उत्पत्ति र धार्मिक महत्व
श्रीमद्भागवत पुराणमा वर्णन छ– हिरण्याक्ष नामक दैत्यले पृथ्वीलाई पातालमा डुबाएको बेला भगवान विष्णुले वराह अवतार लिएर समुद्रमा पसेर पृथ्वीमाताको उद्धार गर्नुभयो। त्यस बेला वराह भगवानको शरीरबाट खसेको रोमकण पृथ्वीमा पलाएर कुश बनेको हो। त्यसैले कुशलाई भगवान विष्णुको विभूति मानिन्छ।
गरुडलाई सम्बोधन गर्दै भगवानले भन्नुभयो–
“दर्भा विभूतिर् मे तार्क्ष्य ! मम रोमसमुद्भवा:।
अतस्तत् स्पर्शनादेव स्वर्गं गच्छन्ति मानवाः॥”
अर्थात् – हे तार्क्ष्य (गरुड)! मेरो शरीरबाट निस्केको यो कुश मेरो विभूति हो। यसलाई छुनु मात्रले पनि मानिस स्वर्गको बाटोमा पुग्छ।
यही कारणले यज्ञ, हवन, श्राद्ध, पूजापाठदेखि लिएर जप–तपसम्म कुश अनिवार्य मानिन्छ। कुशलाई धारण गर्दा मन शुद्ध हुन्छ, दोष नाश हुन्छ र देवता–पितृहरूको कृपा प्राप्त हुन्छ।
कुशको विशेषता
कुशको मूलमा ब्रह्मा,
मझमा विष्णु र
टुप्पामा महादेव विराजमान हुनुहुन्छ भन्ने विश्वास छ।
त्यसैले कुश केवल घाँस होइन, देवत्वको मूर्ति हो।
कुशलाई आसन बनाएर मृत्यु हुने व्यक्ति वैकुण्ठ पुग्छ भन्ने विश्वास छ।
कुशले रोग निवारण गर्छ – रक्तपित्त, मृगौला रोग, छाती दुख्ने समस्या, तिर्खा आदिमा औषधि मानिन्छ।
कुश दुधमा राखेमा दुध बिग्रँदैन।
कुश रिस नियन्त्रण गर्ने कवच हो, जसले शत्रुको रिसबाट पनि रक्षा गर्छ।
पितृदेवो भवः — पिताको सम्मान
वेदमा भनिन्छ– “मातृदेवो भवः, पितृदेवो भवः।”
आमालाई पृथ्वीसरह र पितालाई आकाशसरह व्यापक मानिन्छ।
पिता त्यो आधार हुन्, जसले जीवनलाई दिशा दिन्छन्।
पिता छातिजस्तै विशाल हृदयका धनी हुन्छन्।
जीवनभर परिवारलाई आश्रय, शिक्षा, संस्कार र अनुशासन दिनुहुन्छ।
पिताको त्याग र श्रमको ऋण सन्तानले जीवनभर तिर्न सक्दैन।
मनुस्मृतिमा भनिएको छ–
“यं मातापितरौ क्लेशं सहेते सम्भवे नृणाम्।
न तस्य निष्कृति: शक्या कर्तुं वर्षशतैरपि।।
अर्थात् – आमाबुबाले सन्तान जन्माउँदा र हुर्काउँदा जुन दुःख सहनुहुन्छ, त्यो ऋण छोराछोरीले सयौँ वर्षसम्म सेवा गरे पनि तिर्न सक्दैनन्।
त्यसैले पिता केवल जन्मदाता मात्र होइनन्, धर्म, संस्कार र जीवनमार्ग देखाउने गुरु पनि हुन्।
कुशे औंसी / पितृऔंसी
हिन्दू परम्परामा भाद्र कृष्ण औंसीलाई कुशे औंसी भनिन्छ। यस दिन दुई विशेष कार्य गरिन्छ–
१.जीवित पिताको सम्मान – जीवित बाबुलाई विशेष पूजा, मिष्ठान्न अर्पण गरेर आशीर्वाद लिने परम्परा छ। यसैलाई “पिताको मुख हेर्ने दिन” भनिन्छ।
२.दिवंगत पिताको स्मरण – श्राद्ध, तर्पण, दान, गोकर्ण स्नान गरेर पितृलाई स्मरण गरिन्छ।
यस दिन बिहानै उठेर स्नान गरेर कुशलाई पवित्र मन्त्रसहित काटिन्छ, धारण गरिन्छ र देव–पितृलाई अर्पण गरिन्छ।
श्राद्धको परिभाषा शास्त्रमा यसरी गरिएको छ–
“श्रद्धया दियते, हुयते, क्रियते तत् श्राद्धम्।”
अर्थात् – श्रद्धाले गरिएको दान, हवन वा कार्य नै श्राद्ध हो।
यसरी श्रद्धा र आस्थाले गरिएको कार्यबाट पितृ तृप्त हुन्छन् र परिवारलाई आशीर्वाद दिन्छन् भन्ने विश्वास छ।
आजकल धेरै युवाले बाबुलाई “बाबा” वा “पिता” नभनी “daddy” भन्न थालेका छन्। शब्द सानो जस्तो लागे पनि यसले संस्कारलाई बिर्साउने खतरा हुन्छ। संस्कार हराए हामी आफैं हराउँछौं।
त्यसैले संस्कृतिको जरा मजबुत बनाउन,
बाबुलाई आदरले सम्बोधन गर्नुपर्छ,
आमाबुबाको जीवनभर सेवा–सहारा दिनुपर्छ,
र दिवंगत भएपछि पितृकार्य गरेर सद्गति दिनुपर्छ।
कुश — शुद्धता, स्वास्थ्य र आध्यात्मिकता दिने दिव्य शक्ति हो।
पिता — आकाशसरह विशाल, सन्तानका लागि सधैं कल्याण चाहने जीवनका आधार हुन्।
कुशे औंसी — यी दुवैलाई एकसाथ सम्झाउने संस्कारिक पर्व हो, जसले हामीलाई हाम्रो जरा, संस्कार र कर्तव्य सम्झाउँछ।
यसरी हेर्दा, कुशे औंसी केवल एक धार्मिक पर्व होइन, पितृऋण सम्झाउने संस्कारिक पर्व हो।
यस दिन हामीले आफ्नो जीवनका मूल आधार आमाबुबालाई सच्चा श्रद्धा, सम्मान र प्रेम दिन सिक्छौं।
