
बाजुरा—बाजुरामा बालविवाह मुद्धामा फरार रहेका एक युवक ९ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्ध बस्ने ३४ बर्षका हर्क बहादुर बडुवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष अप्रेसन टोलीले बिहीवार उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार बडुवाललाई जिल्ला अदालत बाजुराले २०७३ साल चैतमा बालविवाह मुद्धामा दोषी ठहर गरेको थियो । उनलाई जिल्ला अदालतले उक्त मुद्धामा ५ महिना ७ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएपछि फरार अवस्थामा रहेका थिए । पक्राउ परेका उनलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएर फरार रहेका अर्का एक जना पनि पक्राउ गरेकाे छ । ज्यान मार्ने उद्याेगमा फरार भएका त्रिवेणी नगरपालिका ५ का २२ बर्षका दिल धामी पक्राउ परेका हुन् । उनलाई पनि जिल्ला अदालतमा उपस्थित गराइएको जनाएको छ ।
