शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बडिमालिका
  • भ्रमण यात्रा स्मरण–प्रकृतिसंगको अन्तर संघर्ष

भ्रमण यात्रा स्मरण–प्रकृतिसंगको अन्तर संघर्ष

  • मङ्लबार, साउन ७, २०८२
भ्रमण यात्रा स्मरण–प्रकृतिसंगको अन्तर संघर्ष

यात्रा पूर्व तयारी: हामी गाउँका केही मनमिल्ने साथिहरूबीच एक दिन विचार उठ्यो—कहिलेकाहीँ मन शान्त पार्न, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र स्वास्थ्य लाभका लागि पनि यात्रा आवश्यक हुन्छ। त्यही सल्लाहका आधारमा हामीले एक ह्वाट्सएप समूह बनायौं। यद्यपि, धेरैलाई समूहमा जोडिएनौँ—किनभने टोली ठूलो भयो भने यात्रा त्यति रमाइलो नहुने अनुभव थियो। त्यसैले छोटो उद्देश्य बोकेको गाउँले टोली मात्र बनाउने निर्णयमा पुग्यौं। सल्लाह त धेरैले गरे तर समय नमिलेका, तयारी अधुरो भएकाहरु सबै जान सकेनन्। जसको मन, समय र तयारी मिलेका ती १२ जना—हाम्रो यात्रा टोली पक्का भयो।

भ्रमणको उद्देश्य थियो: यो यात्रा केवल पाइलाको यात्रा नभइ— हाम्रो पुर्खाको इतिहास पुनः स्मरण गर्ने, हाम्रो सस्कार, संस्कृति, र बाल्यकालका सम्झनाहरू पुनर्जीवित गर्ने प्रयत्न थियो। भैंसी, गोरु, भेडाबाख्रा चराउँदै पुर्खाहरूले टेक्दै आएका ती डाँडापाखाहरूलाई फेरि एकपटक आँखाले निहार्ने, प्राकृतिक सौन्दर्यसँग केही दिन बिताउने, मन र शरीर दुवैलाई शान्त पार्ने, र आन्तरिक पर्यटनमा योगदान दिने हाम्रो सामूहिक संकल्प थियो। साथै, पोरखे देखी मना कोर्धसम्मको पुरानो रुटबारे बुझ्ने लक्ष्य पनि राखेका थियौ।

भ्रमण क्षेत्र: हाम्रो बाल्यकालको गोठालो जीवनका खर्क र चरनभूमिहरू— डाँड, तल्लापाटन, लाड्छ, कालापाटन क्षेत्र—भैंसी, गोरु चराउँदै हिंडेका ती ठाउँहरू हाम्रो पहिलो गन्तव्य बन्ने भए।

त्यसपछि पोरखे लेक, दिउडा पाटन हुँदै त्रिवेणी, बडिमालिका मन्दिर पुग्ने र अन्तिम दिन मना हुँदै बिरे खोला झरनातिर झर्ने योजनासहित यात्रा तय गरियो।

असार ३१ गते

हाम्रो सामूहिक उद्देश्य र उत्साहसहित यात्राका लागि आवश्यक सामग्री तयारी गर्दै हामी यात्रा सुरु गर्न तत्पर भयौं।

यात्राको पहिलो दिन: असार ३२ गते को बिहान, हाम्रो भ्रमण टोलीका पहिलो सदस्यहरू—उमाकान्त उपाध्या, जयराज जैशी अंकल, र रोशन पाध्या भाइ र म मार्तडीबाट  हाम्रो यात्रा प्रारम्भ गर्यौ। त्यसबेला हाम्रो रजातोली गाउँमा बिहानको खाना बनि सकेको थियो करिव १ घण्टाको जिव र पैदल यात्रा पछि गाउँमा पुगेर खाना खायौ । त्यसपछि अर्को टोली—बिजयराम पाध्या बाजे, बिष्णु पाध्या अंकल, लोकराज, टेकराज, नरेश तिमिल्सिना भाइहरू, र भूमि पाध्या अंकल—गाउँबाट टोलीमा थपिए।

No description available.

केही समयपछि ढम्कनेबाट दिपेश तिमिल्सिना अंकल र हेमन्त पाण्डे भाइ पनि समूहमा जोडिनुभयो। ढम्कनेमै हाम्रो १२ जनाको यात्रा टोली पूर्ण भयो। त्यही दिन, हामी सबैजना राप्ले हल्याखाडा हुँदै करिब ५ घण्टा लामो उकालो यात्रा सुरु गर्यौं। बीचबीचमा चोया गाड्ने, ध्वजा लाउने स्थानमा विश्राम गर्दै, घरबाट ल्याएको पोलेको आलु, कोदोको रोटी, टिमुर र खुर्सानीको अचार खाँदै यात्रा अघि बढायौं।

करिब ४ बजे हामी ‘डाँड भैंसी खरक’ पुग्यौं— जुन केवल एउटा गोठ मात्र नभई, म गोठालो बसेको, हाम्रा पुर्खाले चरन बनाएको ऐतिहासिक ठाउँ हो। त्यसै ठाउँलाई त्यस दिनको बासको स्थल बनाउने निर्णय गर्यौं, किनभने त्यही गोठमा हाम्रा टिमका सदस्य दिपेश तिमिल्सिना र जयराज जैशी अंकलका भैंसीहरू पनि थिए।

No description available.

गोठमा पुग्नासाथ, हाम्री अन्टी जाँनकि तिमिल्सिनाले हामीलाई महि (दहीको झोल) खान आग्रह गर्नुभयो। हामी आफैंले महि बनाउने रहर गरेका थियौं, त्यसैले भन्यौं“आमै, हामी आफै बनाउँछौं।” उहाँले हाँस्दै भन्नुभयो—“हुन्छ, अहिलेको लागि तातो दूध छ, त्यो तताएर खाऊ, पछि महि आफै बनाएर खानू।”

त्यसपछि लोकराज भाइले दूध तताउने जिम्मा लिए, र हामी पालैपालो महि बनाएर तातो दूधमा रोटी डुबाएर स्वादसँग खायौं। त्यो स्वाद—त्यही गोठको, आफ्नै हातले बनाएको महिको स्वाद—अल्झिने खालको थियो। हाम्रो योजना फरक र रमाइलो थियो—त्यही भएर हामीले टेन्ट हालेर छुट्टै बस्ने तयारी गरेका थियौं। ‘बादापानी’ भन्ने ठाउँमा टेन्ट हालेर बस्न आवश्यक सामग्री खरकबाट लियौं। हाम्रो योजना अनुसार, आज खसी (बोका) खाने दिन थियो।

त्यहाँका गोठालासँग बोका सल्लाह गरेर, मूल्य निर्धारण गरी व्यवस्थापन गर्यौं। मासुका विभिन्न परिकारहरू तयार गर्यौं, साथमा घरबाट ल्याएको खाना पनि खायौं। साँझ रमाइलो दाहोरी गीत गाउँदै, भोकप्यास मेटाउँदै, सयौं तारा हेर्दै, मन हल्का बनाउँदै रातको १२ बजेतिर सुत्यौं।

दोस्रो दिन: (साउन १ गते)

 पहिलो दिनको साँझ नै हामीले भोलिपल्ट बिहानको खाजा खिर खाने योजना बनाएका थियौं। हाम्रो टोली सदस्य दिपेश तिमिल्सिना अंकलको परिवार—विशेष गरी अन्टी जानकी तिमिल्सिनाको आग्रह अनुसार, बिहानको खाजा उनीहरूको गोठमै खिर खाएर जानुपर्ने भयो। त्यही अनुसार, हामी बिहान फेरि त्यही खरक गोठमा पुग्यौं । भैंसी दुहुने रहर पनि थियो तर हामी पुग्दासम्म दूध दुहिसकेको रहेछ। त्यहाँ झन्डै ४–५ वटा भैंसी दुहुने रहेछन्।

No description available.

गोठाला लोकराज पाध्या अंकलले स्वादिलो खिर पकाउनु भयो। करिब ८ बजेतिर हामी सबैले खिर खायौं। पछि हामि बास बसेको ठाउँबाट ३७१० मिटर उचाइबाट टेन्ट समेट्यौं, झोलाको बन्दोबस्त ग-यौं र साँढेले सम्हालेजस्तो आत्मबलसहित उकालो लाग्यौं। भैँसी गोठ, ठूलाठूला चट्टान र डिलहरू पार गर्दै तल्लापाटन पुग्यौं। त्यहाँ पनि म बाल्यकालमा गाईगोरु चराएको थिएँ। हाम्रो साथमा गएका गोठाला बाजे नर जैशी र लोकराज अंकल, राँगो लिन भनी भण्यल्नी गइरहनु भएको थियो। उहाँहरूले हामीलाई केही सामान बोक्नमा पनि सहयोग गर्नुभयो।

तल्लो डाडबाट माथिल्लो डडामा पुग्दा त्यो ठाउँ म बाल्यकालमा गोठालो बसेको खर्क थियो—अहिले केवल जीर्ण अबशेषहरू मात्रै बाँकी छन्। यस वर्ष त्यहाँ कोही पनि गोठालाहरु बसेका छैनन्। हामी केही बेर त्यहाँ विश्राम गर्यौं। मैले बाल्यकालमा पटक–पटक पानी भरेको नियमित मूलबाट चिसो पानी पियौं अनि यात्रा अगाडि बढायौं। हामीसँगै गोठमा बस्ने कुकुर पनि लखेट्दै पछि लाग्यो। हामीले फर्काउन खोज्यौं, तर उ मानेन। सायद गोठालाहरू पनि सँगै भएका कारण उ पछि–पछि लागिरहेको थियो।

केही माथिको पाखामा पुग्दा तीन वटा डाँफे चरा भुर्र उडे—एउटा पोथी डाँफेसँगै सानो ३ वटा चरा पनि रहेछन । अरू १ डाँफे हाम्रो दायाँतिर उड्दा सबैले “डाँफे! डाँफे!” भन्दै रमाए। त्यही बेला हाम्रो पछि लागेको कुकुर ती डाँफे उडेको ठाउँतिर दगुर्यो। अर्को डाँफे अझै त्यही पाखामा रहेछ, भुर्र उड्न खोज्दाखोज्दै कुकुरले च्याप्प समात्यो। हामी छुटाउन दौडियौं, तर त्यो चरा त्यसैबेला मरिसकेको रहेछ। मरेको डाँफे फेरि कुकुरलाई नै छोडिदियौं।

No description available.

त्यसपछि केहीबेर विश्राम गरी हामी अगाडि बढ्यौं। राँगो लिन गएका बाजे र अंकल तल्लापाटनबाट नै फर्किनु हुनेभयो— भैंसी चर्न उता तर्फै आएपछि राँगो पनि उतै पुगेको रहेछ। हामी केही जडिबुटी टिप्दै लाड्छतिर लाग्यौं। बिचमा अलिकति उकालो चढेपछि, हामीले घरबाट ल्याएको रोटी, रेडबुल र केही नास्ता खायौं। थकान कम गर्न गीत गाउँदै विश्राम गर्यौं।

फेरि उकालो चढ्दै गर्दा बाटोमा सरस्वती आधारभूत विद्यालयका शिक्षक भतिज बलबहादुर रोकाया भेटिनुभयो। उहाँको जन्मदिन त्यही दिन रहेछ। हामीले सप्राइज दिँदै शुभकामना व्यक्त गर्यौं। त्यो दिन आकाश पूरै कुहिराले ढाकिएको थियो। हामी कालापाटनमै बस्ने योजना बनाएका थियौं, तर मौसमले साथ नदिएकोले हामी केही अगाडि बढ्यौं।

राँगाठेक्ना भन्ने स्थान पुग्यौं—जहाँ बुढीनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाको चरन सिमाना रहेछ। त्यहाँ साघुरो बाटो थियो, छेकबार लगाइएको। उता र यताको गोठालाबीच राँगोका कारण झगडा नहोस् भनेर बार हालिएको रहेछ। त्यही सिमाना कटाउँदै गर्दा दिपेश तिमिल्सिना अंकलको घरबाट खबर आयो—”बडिमालिका क्षेत्रमा जानु हुँदैन, घरमा जुठो परेको बर्ष छ।”

No description available.

उहाँ फर्किन चाहनु भयो। हामीले भनेका थियौं—“यो धार्मिक यात्रा होइन, त्रिवेणीसम्म जान त हुन्छ।” तर घरको कुरो काट्न नसक्ने भन्दै हामीलाई राँगाठेक्नाको उकालोमा पुर्याएर उहाँ आफ्नै खर्कतिर फर्किनुभयो। हामी फेरि उकालो लाग्यौं। झन्डै १ घण्टा हिँडेपछि “नौमूल” भन्ने पाटनमा पुग्यौं, त्यही बस्ने निधो गर्यौं। करिव ३९९२ मिटर उचाइमा हाम्रो बास भयो ।

नौमूल भनेको बडिमालिका मन्दिर जानु अघिको स्नान गर्ने, पवित्र कार्य गर्ने स्थान हो। त्यही मूलबाट बडिमालिका–७ कुन्नालेगाड हुँदै अनाइखोलाको मुख्य स्रोत पनि हो। पानि अति नै चिसो थियो । त्यो दिन घाम देखिएन, सिंगो पाटन कुहिराले ढाकिएको थियो। दृश्यावलोकन गर्ने मौका पाइएन। हामीले बोकेको टेन्ट हालेरएक जीर्ण खरक छेउमा बास बस्यौं—नजिक कतै खर्क थिएनन्।

बोकेर ल्याएको जगफुट (पिठोको परिकार) र रोटी खाने तयारी भयो। मलाई बेस्सरी थकाइ लागेको थियो। खाना खाने इच्छा थिएन,तर सबैले “केही त खानै पर्छ” भन्दै आग्रह गरे। उमाकान्त अंकलले भने— यहाँ त तातो कहाँ पाइन्छ र? जे आउँछ, त्यही खाएर काम चलाउनुपर्छ।त्यसपछि हामीले थोरै थोरै गरेर खायौं। तर मलाई त्यस दिन चिसो खाना पानिका कारणले रुघा लाग्लाजस्तो महसुस भयो। आदिरात खासै निद्रा परेन विसन्चो जस्तो महसुभ थियो, जेनतेन त्यो रात कटायौं।

यात्राको तेस्रो दिन (श्रावण २ गते):

(त्रिवेणीको चिसो साँझ र भित्री संघर्ष)

मलाई राति निद्रा नलागेकोले पहिलो बिउझिने मनै भए। बिहानै मनमा लाग्यो — ढिलो भएमा पाटनमा कुहिरो लाग्छ, रमाउने दृश्य देख्न पाइँदैन होला, त्यसैले अलिक छिटै माथि पाटन चढ्नुपर्छ। मैले टोलिलाई चाँडो उठ्न अनुरोध गरेँ। केहीले “अलि सुतौँ” भन्दै थाकेको जनाए, तर मैले भनेँ — “हामी पाटन हेर्न आएका हौँ, अहिले खुला छ, यही बेला जानुपर्छ।” सबैजना राजी भए। हातमुख धोएर हामी बिहानै हिड्ने तयारीमा लाग्यौँ।

No description available.

अघिल्लो दिन तय गरेअनुसार, हामी त्रिशूलीपाटनतिर अलि छोटो बाटो भएर जाने योजना बनाएका थियौँ। बिष्णु अंकल बाटो चिन्नुहुन्थ्यो, उहाँकै सुझाबमा योजना बनाइएको थियो। तर बिहान हामीले ‘दिउडा पाटन’ हुँदै जानपर्छ भन्ने निर्णय गर्यौँ, जहाँबाट पोरखेलेक हुँदै बडिमालिका पुग्ने छोटो गन्तव्य पहिचान गर्न सकिन्थ्यो। त्यसैले हाम्रो यात्रा मार्गमा फेरबदल गर्यौँ।

नौमुलिमा सामान्य स्नान गरेपछि हामी सबै आ–आफ्ना झोला तयारी गरेर दिउडा पाटनतिर लाग्यौँ। अलिक उकालो लाग्दै गर्दा मलाई थकान महसुस भयो। बिष्णु अंकलले मेरो अवस्था देखेर झोला पनि बोकेर सहयोग गर्नुभयो। बाटोमा कटुको जडीबुटी भेटियो, टेकराज र रोशन भाइ त्यहीँ केहीबेर त्यसको अध्ययनमा लागे। हामी भने अघि बढ्यौँ।

अलि पर दिउडा पाटनको एक पाखा भेटेपछि सबै रमाएर फोटो खिच्न थाले। भेडीगोठ हेर्दै, रमाउँदै, छोटो बाटो समातेर उकालो लाग्यौँ। झोला बोक्न गाह्रो भएपछि बाजे बिजयराम र लोकराज भाइ पालैपालो बोकेर सहयोग गर्नुभयो। म फेसबुक लाइभ गर्दै रमाउँदै पाटनको चौरमा पुगेँ। थकाइ भए पनि समथल पाटन पुगेपछि दौडिएर पनि रमाइलो गर्यौँ। त्यहाँको उचाइ ४२४५ मिटर थियो।

त्यसपछि हामी दिउडा पाटनको दृष्य अबलोकन गर्दै त्रिशूलीपाटनतिर लाग्यौँ। त्यहाँबाट चारैतिरका बडिमालिका, बुढीनन्दा कालाजग्रा जस्ता धार्मिक स्थलहरु कालापाटन, घोडापाटन, भितोचिर्ना, लौडीबिनायक, सिन्तवा पाटन, कार्धको पाटन लगायत सवै हिमालयनको दृश्यहरू नियाल्न सकिने ठाउँ रहेछ । नेपाली झण्डा समाउँदै फोटो, भिडियो खिच्यौँ। दालमोठ खाएपछि हामी अलि ओरालो लाग्यौँ र त्रिवेणी तिर लाग्यौँ।

भोक लागिसकेको थियो। गोठ भेटेपछि चाउचाउ पकाएर खाने योजना बनायौँ। केही समयपछि हामी बुढिनन्दा–९, डोब्काका एक जनजाती भएको भाइसँगको भेडीगोठमा पुग्यौँ। उहाँसँग चाउचाउ पकाउन सहयोग माग्यौँ। पानी थिएन, तर खोल्साबाट बोकेर ल्याउने निर्णय गर्यौँ। भुमिराज अंकल र जयराज हेडसर पानी लिन जानुभयो। हामी चाउचाउ पकाउने तयारीमा लाग्यौँ। आगोको धुवाँले मलाई खोकी सुरु भयो, तर खासै वास्ता गरिएन।

नास्ता गरेर धन्यवाद दिँदै अगाडि बढ्यौँ। दिउडा पाटनको अन्तिम अग्लो स्थान ४३६५ मिटर उचाइको बेसहुदै त्रिवेणीतिर लाग्यौँ। त्यो पाटनको उचाइका बारेमा हाम्रो नगरपालिको प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी हाम्रो फेसबुक कमेन्टमा बताउनु भएको थियो । करिव २ किलोमिटर आधि घण्टा पछि बुढीमाईको थान पुग्यौँ, जहाँ कालिकोटबाट आएका गोठालासँग भेट भयो। गफ गर्दै हामीले त्रिवेणीसम्म पोरखेबाट करिव ६-७ घण्टामा पुगिने निष्कर्ष निकालेका थियौँ। पोरखेबाट त्रिवेणी पुग्न सहज र छोटो यात्रा हामिले महसुस गर्यौ ।

हामी बुढीमाईको थान हुँदै त्रिवेणी छेउ पुग्यौँ। ढकमक्क फुलेका फूल, घोडा, भेडाबाख्राको बथान हेर्दै हामीले स्वर्गीय आनन्दको अनुभव गर्यौँ। सबैले सोध्यौँ — यस्तो ठाउँ किन छाडे होलान् हाम्रा पुर्खाले? सायद बढिनन्दा जाने चलन भएकाले बडिमालिकातिर कम गएका होलान्। त्रिवेणी पाटन प्रकृतिक सौन्दर्यले भरिएको, बिश्वमै अनुपम पाटन जस्तो लाग्यो।

No description available.

पुरातात्त्विक शैलीको धर्मशाला देख्दा हर्षित भयौँ। केही अधुरो रहे पनि सोलार जडान थियो — सदुर पश्चिम प्रदेश सरकार र बडीमालिका नगरपालिकालाई धन्यवाद दियौ । हामीले बास बस्ने निर्णय तल त्रिवेणी धाममै गर्ने निर्णय गर्यौँ। तल झरेर ढुङ्गा थाम बनाइएको स्थान देख्दा कौतुहल जाग्यो — यहाँ देवी र राक्षसबीच लडाइँ भएको मान्यता रहेछ।

No description available.

ढुङ्गाका थुम बनायौँ — म, जयराज हेडसर, बिजय बाजे र रोशन भाइले। अरू टोली अगाडि थिए। भेट भएपछि बडिमालिका मेलाका बेला तीर्थालु बस्ने ठाउँमा पुग्यौँ। त्यहाँ प्लास्टिकका फोहोर देखेर मन खिन्न भयो। हाम्रो टोलिले सरसफाइ गर्न सुरु गर्यौँ।

त्रिवेणी धामको नदी सङ्गम स्थल पुग्यौँ। त्यहाँ कालिकोटतर्फबाट पूर्वाधार निर्माण हुँदै थियो — ड्याम, पिल्लर, गेट र कङ्क्रिटका संरचना। हामीले कामदारलाई सोध्यौँ, उहाँहरूले भन्नुभयो — “हामी मजदुर हौँ, ठेकेदारले काम दिएको छ, गरिरहेकै छौँ।” न वातावरणीय अध्ययन थियो, न अनुमतिपत्र — प्रकृतिक सौन्दर्य माथि हस्तक्षेप।

हाम्रो टोलिले, ती कामदारको सहयोगमा, त्यहीँ आवास नजिक पाल टाँग्यौँ। घाम लागेपछि हामी खेतिबेति पाटन घुम्न गयौँ। धान रोपाइँजस्ता गह्रा, ढकमक्क फुल, तालहरू — प्रकृतिको अनुपम सौन्दर्य। रमाउँदै नाचेका, देउडा लगाएका, फोटा खिचेर हामी फर्केर त्रिवेणी बास स्थानमा फर्कियौँ।

No description available.

त्यहाँ पोखराबाट आएका एक भाइसँग भेट भयो — एक्लै आएको देखेर अचम्म लाग्यो। कालिकोट बनाइएका भौतिक संरचनामा उपयोज्ञ भनेको सोलार बत्ती मात्रै थियो त्यो प्रबन्ध देखेर केही सहज महसुस भयो। सातु, मिठारोटी, सेल, अचार खायौँ। चाउचाउ पकाउन कामदारको सहयोग लियौँ — चुलो, दाउरा, सबैको सहयोग थियो। म आगो छेउमै बसेँ — अलिक तातो लाग्ने आशामा।

तर, धुवाँले मेरो स्वास्थ्य गम्भीर बिग्रायो भन्ने पत्तै भएन। चाउचाउ खायौँ, समीक्षाहरू गर्यौँ, अनि कपडा भित्र सिलिपिङ ब्यागमा सुत्न लाग्यौँ। राति करिब ९ बजे सुत्यौँ। तीन घण्टापछि मेरो निद्रा खुल्यो। ज्वरो, खोकी, छटपटी — सास फेरिन गाह्रो भएको महसुस भयो। चिसो पानी पिएँ। खोकी रोक्न खोज्दा अरूलाई नडिस्टर्ब गर्ने प्रयास गरिरहेकै बेला रात कट्दै गयो। मनमा डर, शारीरिक पीडा, तर टोलिलाई नथाहा होस् भन्ने भावले मौनता साधेँ।

यात्राको चौथो दिन (श्रावण ३ गते)

त्यो बिहान नै मैले बिरामीको झल्को महसुस गर्न थालेको थिएँ। बिहान ट्वाइलेट गरेर फर्कँदा उकालो चढ्न निकै गाह्रो भइरहेको थियो। त्यसैले ढिला भए यात्रा थप कठिन हुने डरले सबैलाई चाँडै मन्दिर पुग्नुपर्छ भनेर अनुरोध गरेँ। मनमा त छिट्टै फर्किन पाए हुन्थ्यो भन्ने चाहना लुकेको थियो। तर खुलेर भन्न सकिनँ, टिमको उत्साहमा असर नपरोस् भन्ने डर थियो।

No description available.

अनुहारमा मेरो असहजता प्रष्ट देखिन्थ्यो, जसले गर्दा साथीहरू चिन्तित भए। सल्लाह भयो—यदि अवस्था गम्भीर भयो भने म फर्किने, नभए सबैको साथमा अघि बढ्ने। मैले चाहेंको त अरूले जान, म एक्लै फर्किउँ भन्ने थियो, तर कसैले मानेनन्। “हिक्मत गरेर ल जाऔं, जे भए नि!” भन्ने टिमको संकल्पले हामी बिहान ६ बजे तयारी गरेर अघि बढ्यौं।

त्रिवेणी स्नान
सबैजनाले स्नानको तयारी गरे। म पनि “पख, केही गरे पनि नुहाएर जानुपर्छ” भन्ने हिम्मत गरेर नदिमा छिरेँ। तर शरीरले साथ दिएन। खोकि सुरु भएपछि, टाउकोमा पानी र जनैमा पानि छर्केर फर्किएँ। केहि बेर आरामपछि हामी पुन: अघि बढ्यौं। बिष्णु अंकललाई पनि चिसो पानीले नुहाँउदा पुरानो एलर्जी बल्झियो, हामीले केही उकालो चढेपछि एक घण्टा विश्राम गर्यौं।

No description available.

बिष्णु अंकलको समस्या थोरै कम भयो, तर मेरो स्वास्थ्य झन् जटिल बन्दै गयो। मन्दिर पुग्न सकिनँ भने पनि, कम्तीमा अरूले दर्शन गरोस् भन्ने चाहना थियो। टिमले मलाई छोड्न मानेन, बल र सहयोगले हामी दुई घण्टामा लौडीबिनायक पुग्यौं। तर त्यहाँ पुग्दा मसँग न त शक्ति थियो, न निद्रा, न भोक। उमाकान्त अंकल (पूर्व सैनिक) लगातार प्रेरणा दिँदै हुनुहुन्थ्यो: “आट गर, सकिन्छ। मन्दिर जानुपर्छ।” तर शरीरले मानिरहेको थिएन।

No description available.

फेरि एक निर्णय
मैले सबैलाई आग्रह गरेँ: “तपाईंहरू जानुहोस्, म तल झर्छु।” सहमति भयो। भाइ टेकेन्द्र सुरुमा जान मानिरहेका थिएनन्, तर फेरि तयार भए। म, रोशन भाइ तल झर्यौं, बाँकी ९ जनाको टोली बडिमालिका मन्दिरतिर लाग्यो।

भ्रमित बाटो र भेडीगोठ
हामीले सोचेको बाटो मना तर्फ होइन, कार्ध तिरको रहेछ। केही पर एउटा भेडीगोठ भेट्यौं, जहाँ हाम्रै गाउलेको छोरा जनजातिका भान्जा युवक बस्दा रहेछन्। त्यहाँ दुई कुकुर हामिलाइ देखेपछि लखेट्दै आए। मसँग लट्ठी थियो, डर मानिनँ। गोठ रित्तो, तर तातोपानीको आशामा पसेका थियौं। चिया चिसो भेट्यौं, तताएर पियौं। चिया पछि उकालो ओरालो गर्दै कार्ध तर्फ लाग्यौं।

स्वास्थ्य अझै नाजुक
पाटन पुगेपछि एक जना भोटे दाइले मेरो समस्या देखेर भन्नुभयो: “तपाईंको समस्या सामान्य लेक लाग्ने होइन, गम्भीर छ।” उहाँले जडीबुटी ‘कटुको’ चपाउन सल्लाह दिनुभयो। रोशन भाइले झोलाबाट झिकेर दिए। केही बेरमै खोकि कम भयो। तर साना खोल्सा खोल्सीको उकालोमा निकै कष्ट भयो कतै यतै झरेर बिलन पो हुन्छुकी जस्तो शरिर थियो । धेरै जोड गरेमा ब्यहोस हुने डर थियो  निकै सावधानीका साथ अगि बढीयो ।

गाउँको सहारा
कार्धतिर झर्यौं। केही छानाहरू भेट्यौं। टेक बडुवालको बाख्री गोठ र अन्य थापा साउँदका करिव २० गोठहरु त्यहाँ थिए । त्यही गोठमा बास बस्ने तय भयो। त्यहाँकी आमाले टिमुर पानी दिएर सहयोग गर्नुभयो। बिस्तारै अलिकति शरीरमा राहत मिल्यो।

त्यहीँ टिमका अन्य सदस्यहरू पनि आइपुगे। त्रिवेणी जान गाउँबाट आएका मनिराम उपाध्याय, गोठालाहरू संग खरकका नियम (भित्र भात नपकाउने, जुठा नहाल्ने) बारे जानकारी छलफल भयो। पाल्तो र डोको बुन्ने बाजेलाई हेर्न तल झर्यौं, फर्कँदा फेरि मेरो स्वास्थ्य बिग्रियो, खोकि सुरु भयो। गोठभित्रको धुवाँले झनै सास फेर्न गाह्रो बनायो।

अन्धकार रातको यात्रा
सबैले निर्णय गरे—अब यहीँ बस्न सकिँदैन। बाटो गाह्रो भए पनि कोर्धसम्म पुग्नुपर्छ। सबैजना मोबाइलको टर्च बाल्दै अघि बढ्यौं। रातको ७ बजिसकेको थियो।

एकजना बाजेले भन्नुभयो: “यो डाँडावरि मान्छे बोक्न मिल्दैन।” बिष्णु अंकलले जवाफ दिनुभयो: “परिस्थिति अनुसार सकिन्छ, हिडौं।”

३४०० मिटर उचाइबाटमा हाम्रो यात्रा ओरालो लाग्यौं, बाटो साँघुरो र जटिल थियो। करिव ६ घण्टा अन्दकार घना जंगल त्यसैमा बाटो फरक परेर कठिन यात्राको बिचमा उमाकान्त अंकल लड्नुभयो, खुट्टा चिप्लिएर चोट लाग्यो।

समन्वय र उद्दार
कार्धसम्म गाडी ल्याउन खोज्यौं—तर रातको समय, बाटोको डर कसैले त्यहाँ पुग्न मानेनन्। वडा सदस्य प्रेम बडुवाललाई सम्पर्क गर्यौं,  सम्पर्क हुन सकेन सदस्य परे बडुवाल संग हाम्रा समन्वय भए बाटोको लोकेशन कोर्ध सम्म सडकका केहि ढुङ्गा पन्छाएमा जिब आउन सक्ने सल्लाह दिनुभयो तरढुंगा हटाइ गाडी जान सक्ने भए पनि राति कोही गाडी लिएर आउन मानेनन्।

No description available.

त्यति बेला दाइ देवराज उपाध्यायलाई मेरो स्वास्थ्यको खबर पुग्यो। उहाँले तुरुन्तै एम्बुलेन्सको व्यवस्था गर्नुभयो। SK साहुजी शेर खड्का र वडा सदस्यहरू परे बडुवाल र प्रेम बडुवाल सक्रिय भए। राति नै उद्दार भयो केही टोली कोर्ध छोडेर हामि एम्बुलेन्समा अटायजति मार्तडी आएका थियौ एम्बुलेन्स मै आउन पर्ने अवस्था त थिएन घर परिवारको चिन्ताले जोखिम मोलेर जिल्ला अस्पतालको एम्बुलेन्स लिएर दाइ कोर्ध पुग्नु भएकोले थियो करिव रातिको ३ बजि सकेको थियो हामि अस्पताल पुग्यौ ।

No description available.

स्वास्थ्यकर्मी प्रकाश गुरुङ भाइको डिउटी रहेछ उनको सहयोगमा उपचार शुरु भयो। अक्सिजनको मात्रा कम भएर, अस्पतालमै एक रात अक्सिजनको सहारामा बस्नुपर्‍यो। त्यो बेला जीवन कति नाजुक रहेछ भन्ने महसुस भयो। तर म एक्लो थिइनँ। मेरा जीवनका सहारा—मित्रहरू, आफन्तहरू, समाजका जिम्मेवार व्यक्तित्वहरू साथमा थिए।

विशेष धन्यवाद

  • सम्पुण भ्रमण टोली
  • बडीमालिका ६ वडा सदस्य
  • मेरा आदरणीय दाइ
  • साथी SK साहुजी,
  • स्वास्थ्य कर्मी डा.कुम्ब बि.क. लगायत स्वास्थ्य कर्मी
  • परिवारजन श्रीमति
  • सुभ चिन्तकहरु आफन्तजनहरु
  • साँच्चै, तपाईंहरू बिना यो यात्राको सुखद अन्त्य सम्भव थिएन।

अस्पतालको शैयाबाट मनमनै प्रशंशा गरेँ

आज फेरि म सास फेर्न सकिरहेको छु। शरीर विस्तारै ठीक हुँदैछ, तर आत्मा अझ बलियो बनेको छ। किनभने अब म बुझ्न थालेको छु—बाँच्नु भनेको केवल आफ्नै लागि होइन। आफन्त, परिवार, सन्तान, समाजले म प्रति निकै चिन्ता लिएर सहयोग गरिरहेको रहेछ

हाम्रा भोगाइ र सम्झनाहरू, बाँझो खर्कझैँ थन्क्याएर होइन, जोगाएर अगिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक छ। जीवन रहेसम्म यस्ता यात्राहरू दोहोरिरहून्, मुटु र माटो जोडिरहोस्। सार – सन्तान र समाजको प्रगति नै हो। त्यही नै हो, जीउनुको प्रेरणा।

धन्यवाद!

चर्चामा

सम्बन्धित समाचार