काठमाडौं– कर्णाली याक्समा आवद्ध भएका भारतीय क्रिकेटर शिखर धवनले सोमपाल कामीको कप्तानीमा खेल्ने भएका छन् । फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले यसको पुष्टि गरे ।
एनपीएलमा हालसम्मको ठूलो खरिदका रुपमा कर्णालीले भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वओपनर धवनलाई भित्र्याएको छ । धवनले कम्तीमा चार खेल खेल्ने घिमिरेले जानकारी दिएका छन् ।
टीमका मार्की खेलाडी (कप्तान) सोमपाल कामी हुन् । सोमपालकै कप्तानीमा धवनले एनपीएल खेल्ने घिमिरेले नेपाल प्रेसलाई बताए ।
‘यो विषयमा पहिल्यै समझदारी भएको छ । टीमको कप्तानीमा कुनै पनि परिवर्तन हुँदैन,’ उनले भने ।
सोमपालको कप्तानीमा खेल्ने विषयमा धवनले कुनै पनि आनाकानी नगरेको पनि गृहेन्द्रले सुनाए ।
‘उहाँले यसलाई सामान्य रुपमा लिनुभएको छ । फ्रेन्चाइज क्रिकेटमा विदेशी खेलाडीहरुले सबै खेल खेल्ने निधो नहुने भएकाले लोकल खेलाडीलाई नै कप्तानी दिने परिपाटी पनि छ,’ उनले भने ।
धवनको इन्ट्रीसँगै कर्णाली याक्सले चार जना विदेशी खेलाडीको न्यूनतम कोटा पूरा गरेको छ । थप एकजना खेलाडीसँग कुराकानी भइरहेको घिमिरेले जानकारी दिए ।