• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुराको मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालनमा

बाजुराको मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालनमा

चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

  • आइतवार, अशोज ६, २०८१
बाजुराको मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालनमा

टेक बहादुर बुढा —बाजुराको मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य संस्थानका शाखा कार्यालय सदरमुकाम मार्तडी र पूर्वीउत्तरी भेग कोल्टीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि सुदूरपश्चिममा भने केहि ढिला गरी सञ्चालन गरिएको छ ।

जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चामल मात्रै बिक्रीवितरण हुने हुँदा सुपथ मूल्य पसलमा पनि चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्रीवितरण गर्न थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताएका छन् ।  केहि रुपैयाँ सस्तोको नाममा कसैले धेरै खरिद गर्न सक्ने भन्दै प्रतिव्यक्ति एक बोरा मात्रै र खरिद गर्दा सम्बन्धित व्यक्तिको नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य गरिएको उनले बताए । सुपथ मूल्य पसलमा अन्य खाद्य वस्तु, स्थानीय बाली खरिद गर्न जिल्लाका पालिकाहरुसँग समन्वय भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।

हाल मार्तडीमा सोना मोटा, अरुवा मोटा र जिरा मसिनो चामल गरी ४ हजार ५२ क्विन्टल र कोल्टीमा २ हजार ३ सय २३ क्विन्टल मौजाद रहेको छ । सुपथ मुल्य पसल सञ्चालन भएपछि कार्यालयमा अहिले सोना मोटा चामलको प्रतिकिलो ६० रुपैयाँ, अरुवा मोटा ५९ र जिरा मसिनो ८७ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ ।

सरकारले देशभर एकसाथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि ७ गतेभित्र अनिवार्य सञ्चालन गरिसक्नुपर्ने निर्देशन भएकाले केहि तयारी नपुगेकाले केहि ढिलाई भएको कार्यालयले जनाएको छ । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने छन् ।

सरकारले हरेक बर्ष बजार वस्तुहरु अभाव हुन नदिन र नागरिकलाई केहि सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार