• होमपेज
  • समाचार
  • ४२ जिल्ला न्यायाधीश छनोटका लागि भएको लिखित परीक्षामा १२ जना पास

४२ जिल्ला न्यायाधीश छनोटका लागि भएको लिखित परीक्षामा १२ जना पास

  • शुक्रबार, जेष्ठ ३२, २०८१
४२ जिल्ला न्यायाधीश छनोटका लागि भएको लिखित परीक्षामा १२ जना पास

खुला प्रतिस्पर्धाबाट ४२ जना जिल्ला न्यायाधीश छनोटका लागि भएको लिखित परीक्षामा जम्मा १२ जना मात्र उतीर्ण भएका छन् । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा २०३ जना सहभागी भएकामा १२ जना मात्र उतीर्ण भएका हुन् । न्याय सेवामा कार्यरत कर्मचारीहरुका लागि मात्रै सीमित गरिएको २१ सिटमा ४ जनामात्रै लिखित परीक्षामा पास भएका छन् ।

खुला प्रतिस्पर्धाका लागि १२ सिट छुट्याइएकोमा ७ जना पास भएका छन् । आदिवासी जनजातिका लागि २ जनाको सिट रहेकोमा एकजना पास भएका छन् । महिला, मधेशी, दलित र अपाङ्ग कोटामा कोही पनि पास भएका छैनन् । लिखित परीक्षामा उतीर्ण भएकाहरुमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, बसन्तराज जोशी र मनिराम ज्ञवाली छन् ।

तोकिएको सिटभन्दा धेरै कम परीक्षार्थी मात्र लिखित परीक्षामा उतीर्ण भएकाले उनीहरु अन्तर्वार्ताबाट पनि छनोट हुने निश्चितजस्तै छ ।

खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेका जिल्ला न्यायाधीशका बाँकी पद भने न्यायपरिषदले सरकारी कर्मचारीबाटै पदपूर्ति गर्ने भएको छ । गतवर्ष भदौमा पनि लोकसेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षा लिएको थियो । त्यतिबेला २९ सिटका लागि भएको परीक्षामा पारसमणि पोखरेल मात्र उतीर्ण भएका थिए ।

पदपूर्ति हुन नसकेका बाँकी सिटमा न्याय सेवाका कर्मचारी वरिष्ठताका आधारमा नियुक्ति भएको थियो । त्यसक्रममा जेष्ठता र बरियताक्रम मिचिएको भनेर न्यायपरिषदका पदाधिकारीहरुको चर्को आलोचना भएको थियो ।

परीक्षामा समेत फेल भएका कर्मचारीहरुलाई न्यायाधीश बनाइएको भनेर त्यतिबेला परिषदका पदाधिकारीहरुको चर्को आलोचना भएको थियो । कानुनमन्त्री धनराज गुरुङले आफ्नो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत तोकिएका सरकारी वकिल रामचन्द्र शर्मालाई वरियताक्रम मिचेर न्यायाधीशमा सिफारिस गरेको भनेर आलोचना भएको थियो ।

जिल्ला न्यायाधीशको प्रतिस्पर्धामा सधै न्यायसेवाका कर्मचारीहरु अब्बल देखिने गरेका छन् । कानुन व्यवसायीहरुका लागि प्रतिस्पर्धा खुला गरिएपनि यो अवधिमा निकै सीमित संख्याका कानुन व्यवसायीहरु जिल्ला न्यायाधीश बनेका छन् ।

केही साताअघि सम्पन्न कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनले जिल्ला न्ययाधीशको रिक्त पदमा कानुन व्यवसायीहरुको कोटामा उनीहरु मात्र नियुक्ति गर्ने व्यवस्था गर्न माग गरेको थियो ।

सम्मेलनले जिल्ला न्यायाधीशको परीक्षा प्रणाली सुधार गर्नुपर्ने भन्दै फैसला गर्ने क्षमता, मुद्दामा रहेका विवादित विषयको पहिचान, कानूनको ज्ञान, फैसला लेखन जस्ता विषयमा आधारित परीक्षा प्रणालीको विकास गर्न माग गरेको थियो ।

कानुनका प्राध्यापक एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले तीन साताअघि अनलाइनखबरसँगको अन्तर्वार्तामा जिल्ला न्यायाधीशको परीक्षा प्रणाली कानून व्यवसायीहरुका लागि अनुकुल नभएको टिप्पणी गरेका थिए ।

‘जिल्ला न्यायाधीशको परीक्षा प्रणाली लोकसेवाको जाँच दिएर पोख्त भएकाहरुलाई ज्यादा अनुकुल हुने खालको छ । जसले बढी सम्झन्छ, जसले छिटो लेख्न सक्छ, उ सफल हुने देखिएको छ’, उनले भनेका थिए, ‘परीक्षाले न्यायाधीश हुन चाहिने क्षमताको परीक्षण गर्नुपर्ने थियो । लोकसेवा आयोग सरहको जाँच लिएर त वकिलहरुले सक्दैनन् ।’

चर्चामा

सम्बन्धित समाचार