बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन

आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन

  • आइतवार, पुस २९, २०८०
आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन

काठमाडौं —जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश विदामा भएकाले कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन ।

जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको बताए । उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित छन् ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु विदामा भएकाले पेसीमा चढेन ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ ।

सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो । उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो ।

यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार