यो वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साता व्यापी रूपमा मनाइने भएको छ । ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान :उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ नारासहित यो वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदैछ ।
१६ देखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सबैमा आग्रह गरेको छ । नेपालमा विगतका वर्षदेखि नै सम्बद्ध सरकारी, गैरसरकारी, नीजि क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवार लगायतका निकायले दिवस मनाउने गरेका छन् । यो वर्षपनि विभिन्न कार्यक्रम गरेर दिवस भव्य रूपमा मनाउन दिवस मूल समारोह समितिले आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नम्बर ५५÷९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले सार्वजनिक गरेको विश्व आप्रवासी रिर्पोट २०२२ अनुसार संसारभर २८ करोड ५९ लाख मानिसहरू आप्रवासी श्रमिकको रूपमा रहेका छन् । यी आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै वैदेशिक रोजगारमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम् मानव अधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी श्रमिकहरूमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । जुन सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको थियो ।
नेपालमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले कूल ग्राहस्थ उत्पादनमा औसतमा करिब २५ प्रतिशत योगदान गर्दै आएको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६५/०६६ देखि २०७८/७९ सम्म श्रम स्वीकृति लिई ५० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् ।
त्यो अवधिमा २ लाख ८६ हजार २४२ महिलासहित कुल ५० लाख ८३३ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घर परिवार सञ्चालन गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउँदै आएको छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकअनुसार सचिवालयको स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/०७९ सम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९३२ जनाको मृत्यु भएको छ । त्यो अवधिमा २ हजार १२५ जना गम्भीर विरामी तथा अंगभंग भएर घर फर्किएको श्रमिकहरूलाई बोर्ड सचिवालयबाट आर्थिक सहयोग प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।