• होमपेज
  • राजनीति
  • केपी ओलीसँग सम्बाद गर्न लाख बढीले टिपाए नाम

केपी ओलीसँग सम्बाद गर्न लाख बढीले टिपाए नाम

  • बुधबार, कार्तिक २, २०७९
केपी ओलीसँग सम्बाद गर्न लाख बढीले टिपाए नाम

झापा– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्सी ४ गते शुक्रबार ‘कल केपी बा’मार्फत् आम जनतासँग कुराकानी गर्ने भएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट उक्त कुराको जानकारी गराएसँगै हालसम्म देशभरिबाट १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्।

सो जानकारी पनि उनले आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यो उत्साहपूर्ण सहभागिताले खुसी छु। धेरै नाम आएकाले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं। नाम र नम्बर त टिपाउनुभयो नि?’

चुनाव नजिकिएसँगै पछिल्लो समयमा उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन्। ओलीले आधिकारिक फेसबुक पेजमार्फत् प्रधानमन्त्री देउवालाई लाइभ डीबेटमा आउन ‘च्यालेन्ज’ पनि गरेका छन्। उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डीबेट’ मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?’

त्यतिमा होइन यस्ता डीबेट सञ्चालन गर्न उनले सञ्चारमाध्यमहरुलाई आग्रहसमेत गरेका छन्। ‘विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाइभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ। यहाँका सञ्चार माध्यम र सम्पादकज्यूहरुले यस विषयमा के सोच्नु भएको छ। समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु,’ फेसबुकमा उनले लेखेका छन्।

ओली सामाजिक सञ्जालमा मात्र सक्रिय छैनन्। अहिले गृह जिल्ला झापाको चुनावी कार्यक्रममा त्यतिकै व्यस्त छन्। झापा क्षेत्र नम्बर- ५ बाट उम्मेदवारी दिएका ओली बुधबार दिनभरि गृह जिल्लाको चुनावी कार्यक्रममा व्यस्त भए।

सोमबार दिउँसो गृह जिल्ला आइपुगेका अध्यक्ष ओली स्वास्थ्य समस्यामा कारण हिजो (मंगलबार) कुनै पनि कार्यक्रममा सहभागी हुन पाएनन्।  स्वास्थ्यमा सुधार आएपछि ओली आज झापा क्षेत्र नम्बर १ को धुलाबारीमा अगुवा कार्यकर्ता भेला र आफ्नो निर्वाचन क्षेत्रको दमकमा निर्वाचन अभियान अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए। उनी सातौंपटक झापा ५ बाट उठेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी हुन्। अन्नपुर्ण पाेष्ट बाट साभार

चर्चामा

सम्बन्धित समाचार