• होमपेज
  • समाचार
  • पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

  • शनिबार, असार ३२, २०७९
पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्। हिजो (शुक्रबार) कार्यलय परिसरमै मदिरा सेवन गरेको रिपोर्टिङमा पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए।

कुटपिटको आरोपमा आज सुपरभाईजर इलेक्ट्रिकल आन्नदबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका छन्। पौडेल राती नै प्रहरी हिरासतमा परेका थिए। उनीहरुलाई कानुन अनुसार कारबाही गर्ने गरि मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।

कार्यालय परिसरभित्रै खसी काटेर रक्सी पार्टीमा दिनभर रमाएका कर्मचारीहरुले आचार्यलाई कुटपिट गरि दुर्व्यवहार गरेका थिए। आचार्यको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए। समूहनै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको आचार्यले बताए।

आचार्यलाई कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेड्दै लगेका थिए। उनलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोवाईल पनि नियन्त्रणमा लिएका थिए। दिनभर पार्टी गर्दाको सीसिटिभिमा फुटेज समेत डिलिट गराइएको छ। आचार्य नारायणी अनलाइनको सम्पादक तथा प्रेस चौतारी चितवनको उपाध्यक्ष हुन्।

घटनाका दोषीलाई पक्राउ गरि कारबाही गर्नुपर्ने माग राख्दै नेपाल पत्रकार महासंघ चितवनसहित विभिन्न संगठनले विज्ञप्ती निकालेका छन्। नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले विज्ञप्ती जारी गर्दै कार्यालयको मुल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई मोबाइलसमेत कब्जामा लिएर लछारपछार एवम् कुटपिट गरिएको अक्षम्य भन्दै भत्सर्ना गरेका छन्।

विज्ञप्तिमा कर्मचारीले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न जादा पत्रकार आचार्यमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याउन प्रशासनसमक्ष माग गरिएको छ। यस्तै प्रेस चौतारी चितवन, प्रेस यूनियन चितवन र प्रेस सेन्टर चितवन शाखाले समेत दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सबैमा ध्यानाकर्षण पनि गराएका छन्।नागरिकदैनिकबाट साभार ।

चर्चामा

सम्बन्धित समाचार