शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • देश
  • भक्तपुर र हेटौंडामा पनि देखियो हैजा, संक्रमित संख्या २१ पुग्यो

भक्तपुर र हेटौंडामा पनि देखियो हैजा, संक्रमित संख्या २१ पुग्यो

  • बुधबार, असार २२, २०७९
भक्तपुर र हेटौंडामा पनि देखियो हैजा, संक्रमित संख्या २१ पुग्यो

काठमाडौं — चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ,’ महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले भने ।

काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् ।

काठमाडौंका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु, संक्रमितको संख्या १९ पुग्यो
गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।

चिकित्सकका अनुसार झाडापखाला हुँदा घरमै उपचार गर्न सकिन्छ । झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकरा थोरै–थोरै गरी खाने, स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङक चक्कीको मात्रा नविराइकन खाने, व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।

त्यसैगरी कुनैपनि लक्षण देखिएमा तुरून्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ। खान, पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्यादै तिर्खाएमा, ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

झाडापखलाबाट बच्न दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने बासी, सडेगलेको, किरा भन्केको खानेकुरा नखाने चिकित्सकहरु सुझाव दिन्छन् ।

चर्चामा

सम्बन्धित समाचार