धनगढी — बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार ६० वर्षीय हरिराम साउँदमाथि खुकुरी प्रहार गरेको आरोपमा डिलाशैनी-५ कै २७ वर्षीय अजित साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पीडितको आरोपका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले बताए। साउँदलाइ नियन्त्रणमा लिई सोधपुछ भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजि भइरहेको उनले बताए। वडा सदस्यका उम्मेदवार साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको थियो। उनलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको बताइएको छ।