बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुरामा पहिलोपटक प्रहरी प्रमुखको नेतृत्व महिला प्रहरीको काँधमा

बाजुरामा पहिलोपटक प्रहरी प्रमुखको नेतृत्व महिला प्रहरीको काँधमा

डिएसपी बाेहराले सम्हालिन् कमाण्ड

  • शुक्रबार, जेष्ठ ८, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा पहिलोपटक प्रहरी प्रमुखको नेतृत्व महिला प्रहरीको काँधमा

टेक बहादुर बुढा--बाजुराले पहिलोपटक प्रहरी प्रमुखको कमाण्डरको रुपमा महिला प्रहरी पाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहरालाई सरुवा गरेर जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा पठाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १ गते सो कार्यालयको प्रदेश अपराध समन्वय शाखामा कार्यरत डिएसपी बोहरालाई जिल्ला प्रहरी कार्यालय बाजुराको प्रमुखको जिम्मेवारीमा खटाएको हो । डिएसपी बोहराले आज अर्थात जेठ ७ गतेबाट जिल्ला प्रहरीको कमाण्ड सम्हालेकी छन् । यस्तै जिल्लामा एक वर्षभन्दा बढी अवधिसम्म आफ्‌नो कार्यकाल सफल बनाउँदै बिदा भएका डिएसपी इकबाल हवारीको जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरुवा भएको छ । हवारीले करिब १३ महिना बाजुरा बस्दा यहाँ सबैको सकारात्मक सहयोग र साथ सपोटले आफनो कार्यकाल सफल रुपमा बिताएको सन्तुष्टि व्यक्त गरेका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयकाअनुसार इतिहासमै पहिलोपटक बाजुराले महिला प्रहरी प्रमुख पाएको छ । २०३४ सालदेखि हासम्म ४७ जनाले जिल्ला प्रहरी कार्यालयको नेतृत्व गरेका छन् । जसमा सबै पुरुष मात्रै हुन् । अहिले ४८ औं प्रहरी प्रमुखको रुपमा महिला प्रहरी डिएसपी बोहराले जिल्लाको कमाण्ड सम्हालेकी छन् । २०४६ सालमा कैलालीको लम्की चुहा नगरपालिकामा जन्मिएकी बोहरा २०७० सालमा प्रहरी सेवाका रुपमा प्रहरी निरीक्षकमा भर्ना भइन् । त्यसपछि देशका विभिन्न निकायमा सेवा गर्दै २०८० सालमा प्रहरी नायब उपरीक्षक(डिएसपी) मा बढुवा भएकी थिइन् ।

प्रहरी संगठनमा उनी अनुसन्धानमा दक्ष, अनुशासित र परिणाममुखी अधिकृतका रूपमा परिचित छिन् । विशेषगरी अपराध अनुसन्धान र समन्वयात्मक कार्यशैलीमा उनको अनुभवलाई प्रभावकारी मानिन्छ । बाजुराको प्रहरी नेतृत्वमा डिएसपी शैलेश्वरी बोहराको आगमनसँगै जिल्लाको सुरक्षा व्यवस्थापन, महिला–बालबालिका सम्बन्धी मुद्दा र समुदाय–प्रहरी सम्बन्धप्रति नयाँ आशा र चासो समेत बढेको छ ।

देशका विभिन्न दुर्गम जिल्लामध्ये एक बाजुरामा महिला प्रहरी नेतृत्व पुग्नु केवल प्रशासनिक फेरबदल मात्र नभई यसलाई राज्यका सुरक्षा निकायमा लैङ्गिक प्रतिनिधित्व विस्तारको महत्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ। परम्परागत रूपमा पुरुष नेतृत्वको प्रभाव रहेको सुरक्षा संरचनामा महिलाले कमाण्ड सम्हाल्नु आफैंमा सन्देशमूलक विषय बनेको छ ।

बाजुरा जस्तो भौगोलिक रूपमा विकट जिल्ला विभिन्न सामाजिक चुनौतीसँग जोडिएको क्षेत्र हो। कमजोर नागरिक चेतना, घरेलु हिंसा, बालविवाह, महिला हिंसा, मदिरा दुरुपयोग, सामाजिक विवाद तथा ग्रामीण क्षेत्रका सुरक्षासम्बन्धी समस्याले यहाँ प्रहरीको भूमिका अझ संवेदनशील बनाउने गरेको छ। यस्ता मुद्दामा महिला नेतृत्वले पीडितसँगको संवाद सहज बनाउने र न्यायमा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिएसपी बोहराको आगमनसँगै स्थानीय नागरिक, महिला अधिकारकर्मी तथा सरोकारवालाहरूले समुदाय–प्रहरी सहकार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्। विशेषगरी महिला तथा किशोरीहरूले प्रहरी कार्यालयलाई अझ नजिकको र भरोसायोग्य संस्थाका रूपमा लिन सक्ने वातावरण बन्ने विश्वास गरिएको छ ।

पछिल्ला वर्षहरूमा नेपाल प्रहरीभित्र महिलाको सहभागिता बढ्दै गएको भए पनि जिल्ला कमाण्ड तहमा महिला नेतृत्व अझै सीमित छ । यस्तो अवस्थामा बाजुराले महिला कमाण्डर पाउनु समावेशी राज्य व्यवस्थाको अभ्याससँग जोडिएको सकारात्मक संकेत मानिएको छ । यद्यपि, उनी माथिका चुनौती भने कम छैनन्। दुर्गम भूगोल, सीमित स्रोत–साधन, राजनीतिक तथा सामाजिक दबाब, ग्रामीण क्षेत्रमा हुने अपराध नियन्त्रण, र नागरिकको उच्च अपेक्षाबीच नयाँ नेतृत्वले आफ्नो कार्यकुशलता प्रमाणित गर्नुपर्ने अवस्था कायमै छ ।

चर्चामा

सम्बन्धित समाचार