
बाजुरा–बाजुराको बडीमालिका नगरपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” अन्तर्गत कृषि मूल्य शृङ्खलामा महिलाको आय अभिवृद्धि कार्यक्रम सञ्चालन भएको छ । सामुदायिक विकास केन्द्र डोटीद्धारा युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहजीकरण तथा नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो ।
सन् २०२६ अप्रिलदेखि ६ महिनासम्म बडीमालिकामा सञ्चालन हुने उक्त कार्यक्रम सुरुवाती बैठक गर्दै कार्यक्रमको बारेमा जानकारी गराइएको छ । महिलाको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै महिलाहरुलाई आयआर्जनमा जोड्न उत्पादनसँगै प्रशोधन, बजारीकरणको पहुँच र वित्तीय सेवासम्म जोड्ने लक्ष्य राखिएको छ ।
यस्तै महिला कृषकहरुमा कृषि उत्पादन र नयाँ प्रविधि अपनाउने दरमा वृद्धि, दिगो आम्दानी वृद्धिका लागि कृषि व्यवसाय तथा उद्यमशीलता सुदृढीकरण गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन भएको कार्यक्रम संयोजक शैलेस भट्टले बताए । लैङ्गिक समावेशी कृषि मूल्य शृंखलाका लागि बजार सँगको पहुँच तथा संस्थागत क्षमताको अभिवृद्धि गरिने उनले बताए ।
उक्त कार्यक्रम सञ्चालन पश्चात महिला कृषकहरुलाई कटानी पछिको व्यवस्थापन तथा असल कृषि अभ्यास सम्बन्धी प्राविधिक सहयोग, तालिम दिने तथा तालिमपश्चात् व्यवसायिक कोचिङ सहयोग उपलब्ध गराइने सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ । यस्तै बडीमालिका नगरपालिकामा कोदो ह्यान्डलिङ, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ सम्बन्धी क्षमता विकास, कार्यक्रमका गतिविधि तथा यसको प्रभावबारे अनुमगन गर्ने लगायतका गतिविधि सञ्चालन हुने कार्यक्रम संयोजक भट्टले बताए । त्यस्तै उक्त कार्यक्रमबाट महिला कृषकहरुमा कटानीपछिको व्यवस्थापन र असल कृषि अभ्यास सम्बन्धी ज्ञान, सीप र व्यवहारमा सुधार भई उत्पादनको गुणस्तर तथा मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्राविधिक कोचिङमार्फत खेतस्तरमै कृषकहरुको उत्पादन, उत्पादकत्वमा वृद्धि, उत्कृष्ट कृषि उद्यमीहरुको पहिचान र प्रवद्र्धनबाट उदाहरणीय अभ्यासहरुको विस्तार, बजार सूचना आदानप्रदान प्रणाली सुदृढ भई कृषकहरुले समयमै मूल्य तथा माग सम्बन्धी जानकारी प्राप्त गर्ने अपेक्षा रहेको जनाएको छ । यस्तै बडीमालिकाका कृषक, सहकारी तथा उत्पादन समूहहरुको कोदो ह्यान्डलिङ, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि भई कृषि उत्पादनको गुणस्तर, आकर्षण र बजार योग्यता सुधार हुने विश्वास व्यक्त गरिएको छ ।
सिडिसीले सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत रहेर नै पालिकामा कृषि मूल्य शृङ्खलामा महिलाको आय अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्था र पालिकाविच आपसी समझदारी र समन्वय गरेर कार्यक्रमलाई परिमाणमुखी, प्रभावकारी, व्यवसायिक तथा जीवनोपयोगी बनाउन सबैले लाग्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नगर उपप्रमुख नन्दा थापाले पालिकाले कृषिलाई प्राथमिकता दिदैँ रैथाने बाली संरक्षण एवम् प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको भन्दै उक्त कार्यक्रमलाई पनि नतिजायोग्य बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बोध गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताइन् ।
कार्यक्रममा नगर उपप्रमुख नन्दा थापा, विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख एवम् कर्मचारी, सिडिसी डोटीद्धारा सञ्चालित कार्यक्रमका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै सिडिसीले यसअघि देखि बडीमालिकामा “सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम” मार्फत व्यक्तिको जीवन तथा समाज परिर्वतन गर्न लैंगिक हिंसा न्यूनिकरण गर्दै आर्थिक र सामाजिक रुपमा सशक्त गर्न रुपान्तरण कक्षा देखि सशक्तिकरणका कार्यक्रम गर्दै आएको छ । यस्तै संस्थाबाट शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, बाल संरक्षण र आर्थिक विकासमार्फत समुदायलाई आत्मनिर्भर र सशक्त बनाउन विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् ।


