बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकामा सार्वजनिक वित्तमा बालबालिका सहभागीता नीति सम्बन्धी अभिमुखीकरण

बडीमालिकामा सार्वजनिक वित्तमा बालबालिका सहभागीता नीति सम्बन्धी अभिमुखीकरण

  • शुक्रबार, बैशाख ११, २०८३
सेयर गर्नुहोस् :
बडीमालिकामा सार्वजनिक वित्तमा बालबालिका सहभागीता नीति सम्बन्धी अभिमुखीकरण

बाजुरा—बाजुराको बडीमालिका नगरपालिकामा बालबालिकाका लागि सार्वजनिक वित्त र नागरिक सहभागीता नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहीवार निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य तथा बडीमालिका नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो ।

स्थानीय सरकारको योजना छनोट, बजेट, नीति तथा कार्यक्रममा बालबालिकाहरुको सहभागीता र हक अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको निड्न नेपालकी जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले बताएकी छन् । कार्यक्रममा सहभागी नगरपालिकाको वडा नम्बर २, ३ र ८ का बालबालिकाहरुले स्थानीय तहमा आफूहरुका लागि बजेट छुट्याए पनि नीति निर्माण तथा योजना छनौट प्रक्रियामा न्यून रुपमा सहभागी गराइने गरेको बताएका छन् । उनीहरुले बालबालिकाहरुको नाममा पहुँचको आधारमा सहभागी हुने अवस्था रहेको भन्दै पिछडिएका लक्षित वर्गहरु अझै नसमेटिने गरेको गुनासो व्यक्त गरेका छन् ।

यस्तै बडीमालिकाका नगर प्रमुख अमरबहादुर खड्काले पालिकाबाट बालबालिकाहरुलाई नीति तथा कार्यक्रम र बजेटमा समावेशी रुपमा सहभागीताको सुनिश्चितता भइरहेको भन्दै त्यसलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रियताको आवश्यकता रहेको बताए । नगर प्रमुख खड्काले बालबालिकाहरुले निरन्तर रुपमा पालिका तथा वडाबाट सञ्चालित कार्यक्रमको प्रभावकारीता र बजेट सदुपयोग भए नभएको निग्रानी गर्ने तथा कसैले बदमासी गरे खबदारी गरेन भने त्यो गुणस्तरीय नहुने भएकाले त्यसमा लाग्न आग्रह गरे । यस्तै पालिकाबाट हरेक बर्ष बालबालिकाहरुका लागि बजेट विनियोजन भए पनि पहुँच भएको व्यक्तिले मात्रै फाइदा लिने गरेको भन्दै त्यो अवस्थालाई चिर्न पनि यस्तो सचेतनामूलक कार्यक्रमको आवश्यक रहेकाले आगामी बर्षको नीति तथा कार्यक्रम अध्ययन गरेर आवश्यक सुझाव र सल्लाह दिन नगर प्रमुख खड्काले आग्रह गरेका छन् ।

कार्यक्रममा मदनराज जैशीले स्थानीय सरकारको योजना छनौट प्रक्रिया, बजेट तथा कार्यक्रममा बालबालिकाहरुको सहभागीता सम्बन्धी सहजीकरण गरेका थिए ।

यस्तै यसअघि पनि निड्स नेपालको आयोजनामा नगरपालिकाका विभिन्न वडाहरुमा योजना छनोट र बजेट निर्माण प्रक्रियामा सहभागीता सुनिश्चितसहित समावेशी बनाउन महिला र किशोरीहरुलाई परामर्श कार्यक्रम गरेको थियो । स्थानीय तहको योजना छनोट र बजेट निर्माण प्रक्रियाको पूर्वसन्ध्यामा महिला र किशोरीहरुको सहभागीतालाई प्राथमिकताका साथ सुनिश्चित गर्दै समावेश बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको निड्न नेपालकी जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले बताएकी छन् । यसले स्थानीय बजेट तर्जुमा गर्दा महिला र किशोरीको आवश्यकता र सुझावलाई प्राथमिकता दिने विश्वास व्यक्त गरिएको छ ।

बाजुरा जस्ता दुर्गम जिल्लाका महिला र किशोरीहरु अझै पनि शिक्षा, स्वास्थ्य र निर्णय प्रक्रियामा पछाडि छन्। यस्ता परामर्शले समाजमा पछाडि परेका महिला, अपांगता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित भएर बजेटलाई थप समावेशी र आवश्यकता–केन्द्रित बनाउन सहयोग पुग्ने फिल्ड अफिसर कटुवालले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार