बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • क्रिकेट
  • बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु, त्रिवेणी सहभागी भएन

बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु, त्रिवेणी सहभागी भएन

  • मङ्लबार, बैशाख ८, २०८३
सेयर गर्नुहोस् :
बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु, त्रिवेणी सहभागी भएन

बाजुरा--बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुख्य नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा प्रतियोगिता सुरु भएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना र बडीमालिका नगरपालिकाको सह आयोजनामा प्रतियोगिता सञ्चालन भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार एक औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गरेका हुन् ।

बडीमालिका नगरपालिका ८ मार्तडीस्थित मालिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ८ वटा स्थानीय तहहरु सहभागी भएका छन् । त्रिवेणी नगरपालिका भने प्रतियोगितामा सहभागी भएको छैन् । नगरपालिकाका खेलकुद संयोजक खडक ऐडीको यहीँ वैशाख ४ गते सदरमुकाम मार्तडी नजिकै मोटरसाइकल दुर्घटनामा परी घाइते भएर सोमबार उपचारको क्रममा मृत्यु भएको थियो ।

खेलकुद संयोजक ऐडीको निधनको शोकमा दुःख व्यक्त गर्दै नगरपालिका १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नभएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । त्रिवेणीबाट सहभागी नभए पनि अन्य पालिकाका विद्यालयबाट प्रतियोगितामा विद्यार्थी खेलाडीहरु सहभागी रहेको नवनियुक्त खेलकुद विकास समिति अध्यक्ष कोपिला सिंहले जानकारी दिइन् । उनले आफू खेल क्षेत्रमै निरन्तर संघर्ष गर्दै जिल्ला खेलकुद समिति अध्यक्षसम्म पुर्‍याउन योगदान दिने सबैलाई धन्यवाद दिदैँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोगका लागि आग्रह गरिन् ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई शुभकामना दिदैँ खेलमा अनुशासनको ठूलो महत्व हुने भन्दै इमान्दारिता र अनुशासित रुपमा खेल खेल्न र स्वच्छ रुपमा सम्पन्न गर्नस पर्नेमा बताए ।

यस्तै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले चुनाव, एसईई लगायतका कारणले प्रतियोगिता सञ्चालनमा केही ढिलाई भएको भन्दै खेल अवधिभर व्यवस्थापनमा कुनै समस्या हुन नदिने र सबैबाट सकरात्मक सहयोगको अपेक्षा रहेको विश्वास व्यक्त गरे ।

प्रतियोगितामा महिला/पुरुष भलिबल र महिला–पुरुष कबड्डी प्रतियोगिता तथा एथलेटिक्स अन्तर्गतका खेल आजैबाट सञ्चालन भएको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद समिति अध्यक्ष कोपिला सिंहको अध्यक्षतामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । यस्तै विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, जिसस उपप्रमुख लाछु सार्की, वडा अध्यक्ष, सुरक्षा निकायका प्रमुख, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार