
टेक बहादुर बुढा, बाजुरा– बाजुराका धेरैजसो ठाउँका नागरिकहरूले फोन नेटवर्कको समस्या झेलिरहेका छन् । सदरमुकाम मार्तडी क्षेत्रसँगै जिल्लाका भौगोलिक रूपमा विकट रहेका गाउँबस्तीहरुमा फोन नलाग्ने, लागे पनि नसुनिने, फोरजी सेवा नचल्ने जस्ता समस्या रहेको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको मार्तडीमा पनि फोन नेटवर्कको समस्या रहेको स्थानीयबासीहरुले गुनासो गरेका छन् । यस्तै जिल्लाको दक्षिणी भेग र पूर्वी उत्तरी भेगका पालिकाहरूमा फोन नेटवर्क समस्या छ । यस्तै जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका १, २ र ३, बडीमालिका नगरपालिका १ पाटा वडा न ६ कोर्ध लगायत गौमुलका दुर्गम गाउँमा फोन नेटवर्कको समस्या रहेको छ ।
धेरै गाउँमा टेलिकमको टावर नहुँदा फोन सम्पर्क नहुने गरेको र फोन गर्न पनि बिहानै घाम लाग्ने अग्ला डाँडामा जानुपर्ने बाध्यता रहेको बिच्छ्याका स्थानीय साजन थापाले बताए । अन्य ठाउँको तुलनामा सबैभन्दा बढी समस्या हिमाली गाउँपालिकामा गुम्बा गाउँमा छ । फोन नेटवर्कको समस्या भएका अन्य गाउँमा फोन गर्न अग्ला डाँडा पाखामा जानुपर्ने तथा घाम लागेपछि मात्रै फोन लाग्ने गरेको छ तर गुम्बा भने कहिल्यै पनि नेटवर्क नआउने गरेको स्थानीयहरूले बताएका छन् । २०७५ सालमा बिच्छ्याको कोट गाउँमा बनेको बिच्छ्या टावर ०८२ जेठ १९ गतेदेखि बिग्रिएको थियो । त्यसपछि बिच्छ्याबासी फोन नेटवर्कको समस्या भोगिरहेका छन् ।
त्यस्तै बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदहमा पनि फोन नलाग्ने, लागे पनि नसुनिने समस्या रहेको स्थानीयहरूले बताएका छन् । गौमुल गाउँपालिका १, ३ लगायतका वडामा पनि टावर नहुँदा फोन नेटवर्कको समस्या रहेको छ । टेलिकम कार्यालयका अनुसार हिमालीको बिच्छ्या र गुम्बा तथा बडीमालिका ६ को कोर्ध गाउँमा फोन नेटवर्कको समस्या रहेको छ । गुम्बा गाउँमा अहिलेसम्म टावर नै छैन, बिच्छ्यामा हालै नयाँ टावर निर्माण गरिएको भए पनि विद्युत् नहुँदा सञ्चालनमा आएको छैन् । त्यस्तै बडीमालिकाको कोर्धमा पहिले गाउँभन्दा अलि तल टावर निर्माण गरेकाले माथि गाउँमा नेटवर्क नटिप्ने गरेको स्थानीयले बताए ।
नेपाल टेलिकम बाजुराका अनुसार हाल जिल्लाभर २७ वटा टेलिकम टावर सञ्चालनमा रहेका छन् । प्रत्येक पालिकाका विभिन्न स्थानमा टावर भए पनि केहीमा विद्युत् नहुँदा समस्या छ भने केहीमा क्षमताभन्दा बढी प्रयोगकर्ता हुँदा फोन नेटवर्कको समस्या देखिएको टेलिकमले बताएको छ ।
कार्यालयका तथ्यांकअनुसार जिल्लामा हालसम्म ८ वटा टावरमा स्थानीय लघु जलविद्युत, १२ वटामा सोलावर, एक टावरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत्, ३ वटामा सोलावर र राष्ट्रिय विद्युत् र २ वटामा सोलावर र स्थानीय विद्युत् पुगेको छ । उक्त तथ्यांकअनुसार धेरैजसो टावरमा सोलावर मात्रै हुँदा घाम लागेपछि राम्रोसँग नेटवर्क आउने र घाम नलागे फोन नै नलाग्ने समस्या छ ।
नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले जिल्लामा टावर धेरै भए पनि भौगोलिक रूपमा विकट हुँदा गाउँमा टावर नटिप्ने समस्या रहेको बताए । उनकाअनुसार सदरमुकाम मार्तडीमा रहेको टावर १७ मिटरको सानो हुँदा केही समस्या देखिएको भन्दै नयाँ निर्माण भएको ५० मिटरको टावर केही दिनभित्रै जडान सम्पन्न हुने र त्यसपछि यस्तो समस्या नहुने बताए । यस्तै हिमालीको बिच्छ्या र कुवाडीमा बनेका नयाँ टावर जडान गर्न काठमाडौँबाट प्राविधिकहरूको टोली आएर केही दिनमै जडान गरिने बताए । बाजुरामा टावर सम्बन्धी कार्य गर्न मर्मतका लागि जिल्लाकै वा डडेल्धुराबाट प्राविधिक आउँछन् भने नयाँ टावर जडानका लागि नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाबाट आउने गरेका छन् ।
यस्तै प्रमुख सिंहले टेलिकमले यसअघि बाजुरालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको भन्दै सोहीअनुसार १७ वटा ठाउँमा नयाँ टावर राख्न सर्भे गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज, हिमाली १, ३ र ५, बडीमालिका १, ३, ६ र ७, गौमुल १, ३ र ५, स्वामीकार्तिक खापर ४, खप्तड छेडेदह ६, बुढीनन्दा १, बुढीगंगा ३, त्रिवेणी ९ लगायतका केही स्थानमा टावर राख्न सर्भे भइसकेको र केहीमा भइरहेको छ ।
जिल्लाका अन्य पालिकाभन्दा सबैभन्दा दुर्गम मानिएको हिमालीमा विकट भौगोलिक अवस्थाका कारण फोन नेटवर्क र इन्टरनेटको ठुलो समस्या छ । नेपाल टेलिकमले २०८० सालमा बाजुरासहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको थियो । टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा मागबमोजिम उपलब्ध गराई नमूना जिल्ला कायम गर्न थालेको जनाएको छ ।
सेवाका दृष्टिबाट नमूनाको रूपमा कायम गरिने जिल्लामा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्यान्डर्ड सेट्स तथा सेवाहरू कायम हुने गरी नेटवर्क स्थापित गरिने टेलिकमले जनाएको छ । जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव बस्तीमा गुणस्तरीय मोबाइल नेटवर्कका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने लक्ष्य लिएको छ ।


