
बाजुरा– जिल्ला अस्पताल बाजुरामा भाँचिएको खुट्टाको जटिल शल्यक्रिया सफल भएको छ । अस्पतालमा उपचारत एक बिरामकिो (रिभर्स सुरल फ्ल्याप) शल्यक्रिया गरिएको ठाउँमा गम्भीर संक्रमण भई इम्प्लान्ट समेत बाहिर देखिएकामा बुधवार सफल शल्यक्रिया गरिएको हो ।
बाजुराको जगन्नाथ गाउँपालिकाका ३ तालकोटकी ३० बर्षीय विष्णु ढोलीको २०८२ फागुन २६ गते घर नजिकै हिड्ने क्रममा भीरबाट खसेको ढुंगा लागेर दायाँ खुट्टा भाँचिएको थियो । उनी एक महिना बढी समय देखि जिल्ला अस्पतालमा उपचारत छिन् । त्यस्तै त्यो बेला विष्णुसहित उनका श्रीमान् पुर्वे ढोलीको समेत खुट्टा भाँचिएर अस्पताल शैय्यामा रहेको समाचार प्रकाशितपछि बडीमालिका फाउण्डेशन नेपालको समन्वयमा दम्पत्तीको उपचारका लागि आर्थिक सहयोग समेत भएको थियो ।
यसअघि विष्णुको खुट्टाको शल्यक्रिया गरेर रड हालेको थियो । तर विस्तारै घाऊ पुरिनुको सट्टा झन् गम्भीर संक्रमण भएर इम्प्लान्ट समेत बाहिर देखिन थालेपछि जटिल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । रिभर्स सुरल फ्ल्याप भनेको खुट्टाको तलतिर (एडी वा टाखा वरिपरि) भएको गहिरो घाउ ढाक्नका लागि खुट्टाको पछाडिको भाग (पिँडुला) बाट स्वस्थ छाला र मासु सार्ने शल्यक्रिया हो । अर्थात यो आफ्नो शरीरकै स्वस्थ भागबाट “जिउँदो छाला” सारेर घाउ छोप्ने तरिका हो, जसले गम्भीर घाउ पनि निको पार्न मद्दत गर्छ ।
जिल्ला अस्पतालका कार्यरत अर्थोपेडिक सर्जन डा.शिरिष श्रेष्ठको नेतृत्वमा बिरामीलाई रेजिनल एनेस्थेसिया दिई पुरै बेहोस नबनाएर खुट्टाको मासु सार्ने विधि र छाला प्रत्यारोपण सफलतापूर्वक जटिल अपरेशन गरिएको हो । यस्तो जटिल अवस्थामा बिरामीको खुट्टालाई अंगभंग हुनबाट जोगाउन यो शल्यक्रिया निकै महत्त्वपूर्ण रहेको भन्दै यस्तो शल्यक्रिया जिल्ला अस्पतालमा पहिलोेपटक सफल रुपमा सम्पन्न गरिएको अर्थोपेडिक सर्जन डा.शिरिष श्रेष्ठले बताए । डाक्टर श्रेष्ठले भने, “यस्तो सर्जरी बाहिर ठुलो अस्पतालमा त हुन्छ, यसका लागि धनगढी काठमाडौं जानु पर्ने बाध्यता थियो तर हामीले दुर्गममा सीमित स्रोत साधनका वीच यस्ता अंगभंग भएका केशहरुको सफल शल्यक्रिया गरेका छौं ।” करिब चार महिनादेखि जिल्ला अस्पतालमा कार्यरत रहेका डाक्टर श्रेष्टले यहाँ थुप्रै समस्या र सम्भावनाका बावजुद पनि स्वास्थ्य सेवा दिने अवसर मिलेको भन्दै मोटिभेक्सन फ्याक्टर आवश्यक रहेको बताए ।


