बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा आर्थिक गणनाका लागि २० जना गणक खटाइने

बाजुरामा आर्थिक गणनाका लागि २० जना गणक खटाइने

  • आइतवार, चैत्र २९, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा आर्थिक गणनाका लागि २० जना गणक खटाइने

बाजुरा– बाजुरामा आर्थिक गणनाका लागि १९ जना गणक खटाइने गरिने भएको छ । २०८३ वैशाख २ गतेदखि सञ्चालन हुने आर्थिक गणनाका लागि जिल्लामा २० गणक र ३ जना सुपरीवेक्षक गरी २३ जना परिचालन गरिने भएको हो । आर्थिक गणना कार्यालयका जिल्ला आर्थिक गणना अधिकारी प्रकाश बिष्टले जिल्लाका ९ वटै स्थानीय तहमा स्थलगत रुपमा आर्थिक तथ्यांक संकलनका लागि व्यापारिक प्रतिष्ठानको संख्याका आधारमा २० जना गणक खटिने जानकारी दिए ।

सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिकामा ४ जना, खप्तड छेडेदह र बुढीनन्दामा ३/३ जना, बुढीगंगा, त्रिवेणी नगरपालिका, जगन्नाथ र हिमाली गाउँपालिकामा २/२ जना, स्वामीकार्तिक खापर र गौमुल गाउँपालिकामा १/१ जना गणक खटिने अधिकारी बिष्टले बताएका छन् । यस्तै ६ जना गणक बराबर एक जना सुपरीवेक्षक समेत परिचालन गरिने छ ।

साना तथा ठुला उद्योग, व्यवसायको वास्तविक संख्या , रोजगारी अवस्था, जिल्लाको आर्थिक अवस्था, आर्थिक गतिविधिको यर्थात विवरण संकलन गर्न देशभर एकसाथ आर्थिक गणना हुदैछ । त्यस्तै आर्थिक गणनाका लागि जिल्लामा हालसम्म गणक र सुपरीवेक्षक छनोट गरेर उनीहरुलाई गणना कसरी गर्ने, प्रश्नावली कसरी भर्ने तथा व्यवसायीहरुसँग कसरी समन्वय गर्ने लगायतका विषयमा तालिम दिने कार्य भइरहेको अधिकारी बिष्टले बताए । हरेक पाँच वर्षमा गरिने यो गणना यस बर्ष वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला आर्थिक गणना कार्यालय बाजुराले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई गणकहरू आफ्नो व्यवसाय स्थलमा आउँदा सही तथा तथ्यपरक विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ । नेपालमा पहिलो आर्थिक गणना २०७५ मा सम्पन्न भएको थियो भने दोस्रो आर्थिक गणना आव २०८२/८३ मा सञ्चालन हुन लागेको हो।

आर्थिक गणनामा औपचारिक तथा अनौपचारिक दुवै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठान तथा व्यवसाय समेटिनेछन्। आर्थिक गणना स्थलगत रूपमा सञ्चालन गरिनेछ। गणक तथा सुपरीवेक्षकले व्यवसायस्थलमै पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन्। यस गणनामा मुख्य रूपमा दुई प्रकारका प्रश्नावली प्रयोग गरिनेछ।

पहिलो सूचीकरण फाराम, जसमा सबै प्रतिष्ठान तथा व्यवसायको संक्षिप्त विवरण सङ्कलन गरिनेछ। दोस्रो मुख्य प्रश्नावली, जसमा सूचीकरण भइसकेका प्रतिष्ठानहरूको विस्तृत विवरण सङ्कलन गरिनेछ। मुख्य प्रश्नावलीका विवरण इ–सेन्सस प्रणालीमार्फत व्यवसायी आफैँले भर्न सक्ने व्यवस्था रहेको छ भने कागजी प्रश्नावलीमार्फत गणकले पनि विवरण सङ्कलन गर्नेछन्।

चर्चामा

सम्बन्धित समाचार