बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आर्थिक अभावले बाजुराका प्रेम बहादुर रावलकाे उपचार रोकियो

आर्थिक अभावले बाजुराका प्रेम बहादुर रावलकाे उपचार रोकियो

  • मङ्लबार, चैत्र १७, २०८२
सेयर गर्नुहोस् :
आर्थिक अभावले  बाजुराका प्रेम बहादुर रावलकाे उपचार रोकियो

बाजुरा— बाजुराको हिमाली गाउँपालिका–६ पाँडीका प्रेम बहादुर रावल लामो समयदेखि मानसिक रोगसँग संघर्ष गरिरहेका छन्। तर आर्थिक अभावका कारण उनको नियमित उपचार हुन नसक्दा अवस्था झन् जटिल बन्दै गएको परिवारले जनाएको छ।
२०४९ सालमा जन्मिएका रावललाई २०६८ साल मंसिर महिनामा गाउँमा चलिरहेको सप्ताहका क्रममा एक्कासी मानसिक समस्या देखिएको थियो। त्यसपछि परिवारले तत्कालै बुवा डम्बर बहादुर रावल र आफन्तको सहयोगमा उनलाई भारतको लखनउ लगेर उपचार गराएका थिए। त्यहाँको अस्पतालले सुरुमा तीन महिनाको औषधि दिएको थियो। औषधि सेवनपछि केही सुधार देखिए पनि औषधि छुटेपछि समस्या पुनः दोहोरिँदै आएको परिवारको भनाइ छ।
२०७१ र २०७६ सालमा समेत उनलाई पुनः लखनउ लगेर उपचार गराइएको थियो। पछिल्लो उपचारपछि केही सुधार देखिए पनि रोग पूर्ण रूपमा निको हुन सकेन। २०७९ सालमा उनलाई नेपालकै पाटन मानसिक अस्पतालमा पनि उपचारका लागि लगिएको थियो। तर त्यहाँबाट ल्याइएको औषधिले अपेक्षित सुधार नदेखिएको र खर्च मात्रै बढेको परिवारले जनाएको छ।
हालसम्म आइपुग्दा आर्थिक अभावका कारण उनको उपचार पूर्ण रूपमा रोकिएको छ। नियमित औषधि र निगरानी आवश्यक भए पनि परिवारको कमजोर आर्थिक अवस्थाले उपचार सम्भव हुन नसकेकाे उनका आफन्तले बताएका छन।
प्रेम बहादुरका दाजु कर्ण बहादुर रावलले भाइको उपचारका लागि सहयोग गर्न सबैमा हार्दिक अपिल गरेका छन्। “हामीसँग अब उपचार खर्च जुटाउने अवस्था छैन, सहयोगीदाताबाट सहयोग पाए उपचार अगाडि बढाउन सकिन्छ,” उनले भने। परिवारले सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई सम्पर्क नम्बर ९८६३१००६८२ मा सम्पर्क गरि सहयाेग गरिदिन अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार