
धनगढी—सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद् सचिवालयले शपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।
सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भिक चरणका बैठकहरू बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगायतको व्यवस्थापन भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा निकै जटिलताहरू देखा पर्ने भएकाले छिटो भन्दा छिटो संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बताए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यहीँ चैत्र १२ गते बहुउद्देश्यीय हलमा नै हुने संसद् सचिवालयले जनाएको छ ।

सुदूरपश्चिमका पाँच सांसद मातृभाषामा शपथ लिँदै
नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको शपथग्रहण यहीँ १२ चैतका लागि ताेकिएकाे छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य रहेका नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदलाई शपथ गराउने कार्यक्रम रहेकाे जनाएकाे छ ।
यसपटक २४ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने इच्छा व्यक्त गरेका छन्, जसमा सुदूरपश्चिम प्रदेशका पाँच जना छन्। डोटेली भाषामा शपथ लिनेहरूमा दीपक बोहरा, आकृति अवस्थी र हरिना कामी रहेका छन्। उनीहरू सबै डडेल्धुराका बासिन्दा हुन् भने बोहरा कञ्चनपुर–२ बाट निर्वाचित भएका थिए। त्यस्तै गीता चौधरीले थारु भाषामा र कृपाराम रानाले रानाथारु भाषामा शपथ लिने तयारी गरेका छन्। यी दुवै जना कञ्चनपुरबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन्।
शपथसम्बन्धी ऐन २०७९ अनुसार सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था रहेको छ। सोही आधारमा सांसदहरूले आफूले रोजेको भाषाको विवरण संसद सचिवालयमा दर्ता गराएका हुन् ।


