
बाजुरा– कर्णाली करिडोर सडकअन्तर्गत सडक खन्नेक्रममा बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका–१ पादुका नजिकै पुराना भग्नावशेष तथा मानकंकालका हड्डीहरू भेटिएका छन । डोजरले सडक खन्न क्रममा एकै ठाउँमा ठुला ठुला खाडल र खडल भित्र मानवकंगाल भेटीएका हुन । सो क्षेत्रमा भेटीएका मानव कंगालका विषयमा उचित खोज अनुसन्धान हुनुपर्ने आवाज उठ्न थालेको छ ।
स्थानीयका अनुसार सडक विस्तारका क्रममा जमिन खन्दा पुराना संरचनाका अवशेषसँगै मानव कंकाल जस्तो देखिने हड्डीहरू फेला परेका बताएका छन । उक्त स्थान पहिले गिरी, पुरी, नाथ र भारती समुदायका व्यक्तिहरूको मृत्यु हुँदा अन्त्येष्टि गरिने समाधिस्थल (समाधि स्थल) रहेको हुन सक्ने स्थानीयको भनाइ छ।
“यस्ता पुराना अवशेष भेटिँदा पुरातात्विक महत्व पनि हुन सक्छ, त्यसैले विशेषज्ञ टोली ल्याएर अध्ययन गरिनुपर्छ,” एक स्थानीयले बताए। यद्यपि, अहिलेसम्म यस विषयमा सम्बन्धित सरकारी निकाय वा पुरातत्वसम्बन्धी निकायबाट औपचारिक अध्ययन वा अनुसन्धान सुरु नभएको स्थानीयको गुनासो छ ।
जानकारहरूका अनुसार यस्ता भग्नावशेष र कंकाल फेला परेमा त्यसको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पृष्ठभूमि पत्ता लगाउन पुरातत्वविद् तथा सम्बन्धित निकायबाट वैज्ञानिक अध्ययन गरिनु आवश्यक हुन्छ । यसले क्षेत्रको इतिहासबारे महत्वपूर्ण तथ्य उजागर गर्न सक्ने विश्वास गरिएको छ।
स्थानीयले सडक निर्माणसँगै यस्ता सम्भावित ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिन र आवश्यक परे काम केही समय रोकेर अनुसन्धान गर्न माग गरेका छन्।


