
बाजुरा—जिल्ला दलित नेटवर्क बाजुराले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । बुधबार दलित नेटर्वकका अध्यक्ष जसबहादुर विकसहितको टोलीले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका ९ मा बस्ने कक्षा ११ मा अध्ययनरत इनिसा विकको मृत्यु भएको घटना हेर्दा बलात्कारपछि हत्या भएको देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । यस्तै उक्त घटनाप्रति दुःख व्यक्त तथा इनिसाप्रति श्रद्धान्जली व्यक्त गर्दै घटनाको सत्य तथ्य छानविन गरी संलग्न दोषि जो कोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । साथै पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सम्बन्धित निकाय समक्ष माग गरिएको छ ।
इनिसाको गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो ।


