
बाजुरा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा जिल्लामा मतगणना कार्य सुरु भएको छ । शुक्रबार दिउँसो सर्वदलीय सहमति पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो । निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सदरमुकाम मार्तडीस्थित गणनास्थलमा ल्याइएको थियो। त्यसपछि सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनास्थलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको संयुक्त टोलीले गणनास्थल तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको छ । अब मतगणना सुरु भएसँगै बाजुरामा निर्वाचन परिणामप्रति चासो बढेको छ भने विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणले मतगणनाको नतिजा नजिकबाट नियालिरहेका छन्।
निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक परिणाम केही समय समयमा माईकिङ गरेर सार्वजनिक गरिने ब्यबस्था गरिएको छ । बिहीवार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४५ हजार ३९० अर्थात ५१.६६ प्रतिशत मत खसेको थियो । जसमा महिला २४ हजार ११८ र पुरुष २१ हजार २७२ छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनितिक दलर र एक स्वतन्त्रसहित ८ जना उम्मेदवार छन् ।


