आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • क्रिकेट
  • टी–२० विश्वकपः श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

टी–२० विश्वकपः श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

  • आइतवार, फाल्गुन १७, २०८२
टी–२० विश्वकपः श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

काठमाडौं —आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानको यात्रा समाप्त भएको छ। श्रीलंकाविरुद्ध पाँच रनले खेल जिते पनि पाकिस्तान सेमिफाइनलमा पुग्न सकेन।

शनिबार पल्लेकेलेमा खेलिएको सुपर–८ को यस महत्वपूर्ण खेलमा पाकिस्तानलाई सेमिफाइनल पुग्न श्रीलंकालाई १४७ रन वा सोभन्दा कममा रोक्नुपर्ने थियो, तर बलरहरू त्यसमा असफल भए।

समूह–२ बाट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा

पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याउँदै श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो। टोलीले खेल जित्न नसके पनि उसको ब्याटिङ पाकिस्तानका लागि घातक सावित भयो। यस नतिजासँगै सुपर–८ को समूह–२ बाट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगे, जबकि पाकिस्तान र श्रीलंकाको प्रतियोगितामा यात्रा टुंगियो।

लक्ष्य पछ्याउन उत्रिएको श्रीलंकाली टोलीको सुरुआत कमजोर रह्यो। पथुम निसांका ३ रनमै आउट भए भने कामिल मिशारा २६ रनमै सीमित भए। चरित असलंकालाई २५ रनको व्यक्तिगत स्कोरमा अबरार अहमदले क्लिन बोल्ड गरे। त्यसपछि कामिन्दु मेन्डिस (३) र जनिथ लियानागे (५) पनि सस्तोमा पवेलियन फर्किए।

एक छेउबाट पवन रत्नायकेले पारी सम्हाल्दै ३७ बलमा ५८ रनको उत्कृष्ट इनिङ खेले, जसमा उनले ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान दसुन शनाकाले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै ३१ बलमा अविजित ७६ रन बनाए। शनाकाले १९औँ ओभरमा १८ रन र अन्तिम ओभरमा २२ रन जोडे, तर टोलीलाई जित दिलाउन सकेनन्।

अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि २८ रन आवश्यक थियो। शनाकाले तीन छक्का र एक चौका प्रहार गरे पनि अन्तिम दुई बलमा ठूलो सट खेल्न सकेनन्। पाकिस्तानका तर्फबाट अबरार अहमदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए।

फरहान–फखरको कीर्तिमानी साझेदारी

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २१२ रन बनाएको थियो। साहिबजादा फरहानले ६० बलमा शानदार शतक प्रहार गरे भने फखर जमानले ४२ बलमा ८४ रनको विस्फोटक पारी खेले। दुवैबीच पहिलो विकेटका लागि १७६ रनको साझेदारी भयो, जुन टी–२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो।

तर यी दुईबाहेक पाकिस्तानका अन्य ब्याटर पूर्ण रूपमा असफल रहे। कप्तान सलमान आगा र मोहम्मद नवाज खाता नखोली आउट भए भने शादाब खानले मात्र २ रन बनाए। श्रीलंकाका तर्फबाट दिलशान मदुशंकाले ३३ रन दिएर ३ विकेट लिए भने दसुन शनाकाले २ विकेट लिए।

आजको खेलपछि सेमिफाइनल खेल्ने अन्तिम टोलिको टुंगो लाग्ने

दक्षिण अफ्रिकाले सुपर–८ चरणमा लगातार दुई खेल जित्दै ४ अंकसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अर्कोतर्फ जिम्बाब्वे लगातार दुई हारपछि नकआउट चरणको प्रतिस्पर्धाबाट बाहिरिएको छ।

आज दक्षिण अफ्रिका र जिम्बाब्वेबीच दिनको पहिलो खेल हुनेछ। दक्षिण अफ्रिका विजयी भएमा समूह–१ मा शीर्ष स्थानमै रहनेछ। जिम्बाब्वे विजयी भएमा दक्षिण अफ्रिका दोस्रो स्थानमा झर्न सक्छ।

दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएपछि भारत र वेस्ट इन्डिज दुवैसँग सुपर–८ मा एक–एक जित र एक–एक हार रहेको छ। यस्तो अवस्थामा आज साँझ कोलकातामा हुने भारत–वेस्ट इन्डिज खेल नकआउट सरह हुनेछ। विजेता टोली सेमिफाइनलमा पुग्नेछ भने पराजित टोलीको यात्रा यहीँ समाप्त हुनेछ।

चर्चामा

सम्बन्धित समाचार