
बाजुरा– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिम पछि निर्वाचन कर्मचारीहरूले आवश्यक सामग्री बुझेर तोकिएका मतदान स्थल तर्फ जान सुरू भएको छ ।
निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार जिल्लामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावली लगायतका अत्यावश्यक सामग्री बुझेर आ-आफ्ना केन्द्रतर्फ जान थालेका छन् ।
जिल्लामा कुल ७७ मतदान स्थल, १ सय १८ मतदान केन्द्र रहेको छन् । दुर्गम भूगोल र विकट बस्तीका कारण केही केन्द्रमा कर्मचारीहरू पैदलमै सामग्री सहित पुग्नुपर्ने अवस्था रहेको बताइएकोले भौगोलीक विकटताका आधारमा निर्बाचन सामग्री वितरण गर्न थालिएको जिल्ला निवार्चन कार्यालयका निर्वाचन अधिकारी भीम बहादुर शाहीले बताए । सुरक्षा व्यवस्थासहित कर्मचारीहरू चरणबद्ध रूपमा केन्द्रमा परिचालन गरिएको निवार्चन अधिकारी शाहीले बताए ।
मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरिएको छ । जिल्ला प्रशासन र निर्वाचन कार्यालयले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा ७ सय ९ जना कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृत संजिव पोखरेलले बताए । मुख्य निवार्चन अधिकृत पोखरेलका अनुसार जिल्लाका १ सय १८ ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित बढीमा ६ जनासम्म कर्मचारी खटाइएका छन् । सदरमुकाम मार्तडीको डिभिजन वन कार्यालयमा अस्थायी मतदान स्थल तोकिएको छ । अस्थायी मतदान स्थलमा ४ जना कर्मचारी खटाउने तयारी गरिएको छ ।
बाजुरामा कूल ८७ हजार ८ सय ६१ मतदाता छन् । जसमा ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनीतिक दलसहित १ जना स्वतन्त्र गरी ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
