
बाजुरा– बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि छात्रवृत्ति वितरण गर्न आवेदन आह्वान गरेको छ। नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम तथा छात्रवृत्ति वितरण तथा व्यवस्थापन समितिको निर्णयअनुसार विभिन्न तहका विद्यार्थीका लागि आवेदन खुला गरिएको हो।
सार्वजनिक गरिएकाे सूचनाअनुसार बडिमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११/१२ का विद्यार्थी, प्राविधिक शिक्षा (१८ महिने), डिप्लोमा तह, सामुदायिक क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू तथा आदिवासी जनजाति, दलित र अपाङ्गता भएका विद्यार्थीहरू छात्रवृत्तिका लागि योग्य हुने जनाएकाे छ।
नगरपालिकाका अनुसार २०८२ फागुन १४ गतेदेखि २०८२ फागुन २८ गतेसम्म (१५ दिन) भित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सकिने जनाएकाे छ। आवेदन फाराम बडिमालिका नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक कल्याण उपशाखा तथा सम्बन्धित वडा कार्यालयमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विद्यार्थी परिचयपत्र, सम्बन्धित वर्गको सिफारिस पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र लगायत कागजात अनिवार्य गरिएको छ। साथै आवेदन फाराम नगरपालिकाको आधिकारिक वेबसाइट www.badimalikamun.gov.np बाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। नगरपालिकाले तोकिएको समयसीमा भित्र आवेदन पेश गर्न सम्बन्धित सबै विद्यार्थी तथा सरोकारवालालाई आग्रह गरेको छ।

