
बाजुरा– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा बाजुरा जिल्लामा चुनावी गतिविधि तीव्र बनेको छ। गाउँ–गाउँमा आमसभा, घरदैलो र प्रचार–प्रसार बढेको छ। दलका उम्मेदवारहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका आकर्षक नाराहरू अघि सारेका छन्।
तर, चुनावी चहलपहल बढे पनि स्थानीय बासिन्दामा उत्साहभन्दा बढी निराशा देखिएको छ। वर्षौंदेखि दोहोरिँदै आएका अधुरा वाचा र आधारभूत विकासको अभावले जनतामा अविश्वास बढेको उनीहरू बताउँछन्। हिमाली भेगका बस्तीहरूमा अझै पनि सडक, खानेपानी, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पहुँच सहज छैन। चुनावका बेला मात्र नेताहरू गाउँमा पुग्ने, प्रतिबद्धता जनाउने तर निर्वाचनपछि प्रतिबद्धता कागजमै सीमित हुने गुनासो स्थानीयको छ।
“हरेक चुनावमा सडक कालोपत्रे गर्ने, अस्पताल स्तरोन्नति गर्ने, रोजगारी सिर्जना गर्ने भनिन्छ। तर पाँच वर्ष बित्दा पनि उही अवस्था दोहोरिन्छ,” एक स्थानीय युवाले बताए। विशेषगरी युवाहरू रोजगारीको अभावमा भारत तथा तेस्रो मुलुकतर्फ पलायन भइरहेका छन्। कृषिमा आधुनिकीकरण र साना उद्योग प्रवर्द्धनको कुरा गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनिहरुकाे भनाइ छ।
राजनीतिक दलहरूले यसपटक विकासलाई मुख्य एजेन्डा बनाएको दाबी गरिरहेका छन्। तर मतदाताले अब भाषणभन्दा काम देख्न चाहेको स्पष्ट संकेत दिएका छन्। नागरिक समाजका अगुवाका अनुसार बाजुरामा सडक सञ्जाल विस्तार, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षा, कृषि आधुनिकीकरण र युवा लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भए मात्र जनविश्वास पुनःस्थापित हुन सक्ने बताउछन।
