
बाजुरा– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तीन दिने अभिमुखीकरण तालिम सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराको आयोजनामा फागुन १४ गते देखि १६ गतेसम्म सञ्चालन हुने तालिम मार्फत निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालका प्रमुख भीमबहादुर शाहीले बताए ।
कार्यालयका प्रमुख शाहीका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन तालिम महत्वपूर्ण कडीका रूपमा रहेको बताए । तालिममा मतदान केन्द्र व्यवस्थापन, मतदाता परिचय पुष्टि प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदान स्थल पूर्व तयारी, आचारसंहिता कार्यान्वयन तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषयहरु तालिममा समेटिएका छन् ।
तालिमको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र मुख्य निर्वाचन अधिकारी सञ्जीव पोरखेरले सहजीकरण गरिरहेका छन् । सहजीकरणका क्रममा उनीहरूले निर्वाचन आचारसंहिताको पालना, मतदातामैत्री वातावरण निर्माण, सुरक्षा समन्वय तथा कानुनी प्रावधानबारे विस्तृत जानकारी गराएका छन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा सञ्चालन गरिएको यस अभिमुखीकरण तालिमले मतदान अधिकृत तथा सहाय मतदान अधिकृतलाई आफ्नो जिम्मेवारी स्पष्ट पार्दै आत्मविश्वासका साथ कार्यसम्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । साथै, तालिमले मतदान प्रक्रियामा देखिन सक्ने सम्भावित चुनौतीहरूको पहिचान र समाधानका उपायबारे पनि स्पष्ट मार्ग निर्देशन प्रदान गर्ने निरौलाले बताए ।
जिल्लामा तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सम्पन्न गराउने उद्देश्य सहित तालिम सञ्चालन गरिएको जिल्ला निर्बाचन कार्यालयका प्रमुख शाहीले बताए । निर्वाचनलाई भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको समेत जोड दिइएको उनले बताए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा ७ सय ९ जना कर्मचारी खटाइने मुख्य निर्बाचन अधिकृत संञ्जीव पोखरेलले बताए । अधिकृत्त पोखरेलका अनुसार जिल्लाका १ सय १८ ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृत सहित बढीमा ६ जनासम्म कर्मचारीहरु खटाइएको बताए । सदरमुकाम मार्तडीको डिभिजन वन कार्यालयमा अस्थायी मतदान स्थल तोकीएको छ । अस्थायी मतदान स्थलमा ४ जना कर्मचारी खटाउने तयारी गरिएको छ ।
बाजुरा जिल्लामा कुल ८७ हजार ८ सय ६१ मतदाता कायम भएका छन् । जसमा ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनिति दल सहित १ जना स्वतन्त्र गरी ८ जना उम्मेद्धार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
