• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा हिमालीको गुम्बा गाउँ पुस्ताैदेखी आधारभूत विकास सुविधाबाट वञ्चित

बाजुरा हिमालीको गुम्बा गाउँ पुस्ताैदेखी आधारभूत विकास सुविधाबाट वञ्चित

  • शनिबार, पुस २६, २०८२
बाजुरा हिमालीको गुम्बा गाउँ पुस्ताैदेखी आधारभूत विकास सुविधाबाट वञ्चित

बाजुरा– बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँ पुस्तौंदेखि आधारभूत विकास सुविधाबाट वञ्चित हुँदै आएको छ। जिल्ला सदरमुकाम मार्तडीदेखि करिब २०० किलोमिटर टाढा रहेको यो दुर्गम बस्तीमा हाल पनि सडक, टेलिफोन र विद्युत् सेवा पुग्न सकेको छैन। झण्डै ६५ घरधुरी रहेको गुम्बाका स्थानीय आजसम्म घोडा–भेडाको भरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न बाध्य छन्।

२०७६ सालमा पालिकाले घोरेटो बाटो निर्माण गरेपछि गाउँ–पालिकाबीचको आवतजावत केही सहज बने पनि त्यसभन्दा अगाडि ठूलो भिरको कारण गाउँ पुग्नु नै जोखिमपूर्ण थियो। स्थानीयका अनुसार एकीकृत योजना नहुँदा वर्षौंदेखि बाटो निर्माण अन्योलमै छ। गत आर्थिक वर्ष संघीय सरकारले गुम्बासम्म सडक पु–याउन करिब पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो। तर रकम रोकिएपछि काम अघि बढ्न सकेको छैन। वडाध्यक्ष मङ्गल बुढाका अनुसार स्थानीय फेरि पहिलेजस्तै सडकविहीन अवस्थामै परेका छन्।

गुम्बा गाउँमा टेलिफोन र इन्टरनेट सेवाबाट पनि पूर्णतः वञ्चित छ। जिल्लाका अधिकांश ठाउँमा २०६४ देखि सेवा विस्तार हुँदै गए पनि गुम्बाभरि आजसम्म टेलिफोन सुविधा पुगेको छैन। “न टेलिफोन, न सडक, न बत्ती—हामी अझै झरो र टुकीमा निर्भर छौँ,” स्थानीय जसबहादुर भण्डारी भन्छन्।

विद्युत् सेवा समेत टुटेको छ। विच्छ्या खोलाबाट उत्पादन भएको विद्युत् २०७८ मा गाउँमा पुगे पनि गत साउनको बाढीले नहर बगाएपछि आजसम्म बत्ती बलेको छैन। गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार गुम्बा अत्यन्तै दुर्गम भएकाले पालिकाले मात्रै सडक निर्माण सम्भव छैन, संघीय बजेट आवश्यक छ। गुम्बा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिए पनि बस्ती अझै आधारभूत सेवा–सुविधाको प्रतीक्षामा छ।

चर्चामा

सम्बन्धित समाचार