शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरामा सुविधायुक्त कारागार बन्दै, निर्माण कार्य तीव्र

बाजुरामा सुविधायुक्त कारागार बन्दै, निर्माण कार्य तीव्र

  • शुक्रबार, पुस २५, २०८२
बाजुरामा सुविधायुक्त कारागार बन्दै, निर्माण कार्य तीव्र

बाजुरा—बाजुरा जिल्ला कारागारको सुविधायुक्त नयाँ भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी पुरानो भवन भत्काएर नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो ।

करिब एक महिना अगाडि कारागारको भवन निर्माण कार्य सुरु भएर हाल तीव्र रुपमा काम भइरहेको छ । हाल ठेकेदार कम्पनीले निर्धारित समयमै सक्ने गरी कारागार निर्माणकाे कामलाई तीव्रता दिएकाे जनाएकाे छ । महिला पुरुष गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको सुविधायुक्त कारागार निर्माण हुन लागेको बाजुरा कारागार कार्यालय प्रमुख जेलर अनिलकुमार तिवारीले बताएका छन् । २०३७ सालमा बनेको भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बनाउन लागिएको बताए ।

शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड बढी बजेटमा कारागारको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । कारागारको नयाँ भवन निर्माणका लागि २०८२ भदौमा ५ करोड ९८ लाख ४८ हजार ४९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । २०८३ फागुन मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा डीबी बीएन एस जेभीले लिएको छ ।

करिब ४५ वर्ष पहिले २५ जना कैदीबन्दीका लागि कारागार निर्माण गरिएको थियो । कैदीबन्दी थपिँदै गएकोले भवन साँघुरो हुँदै गएको र जीर्ण हुँदा कैदीबन्दीलाई समस्या हुने तथा सुरक्षामा पनि चुनौति थपिदैँ गएपछि आफू जिल्लामा आएलगत्तै नयाँ भवन निर्माणका लागि पहल थालेको कारागार प्रमुख तिवारीको भनाइ रहेको छ ।

लामो पहलपछि महिला र पुरुष गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण कार्य सुरु गरिएको कारागारले जनाएको छ । कारागारको नयाँ भवन निर्माण कार्य सुरु भएसँगै कारागारका सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरिएको छ । कारागारले दशैं–तिहारमा ४० जना कैदी बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय नौवस्ता कारागारमा सारिएको थियो भने त्यसपछि ७ जना कैदी कैलाली र १८ जना थुनुवालाई अछाम जिल्ला कारागार स्थानान्तरण गरिएको छ ।

२०३७ सालमा २५ जना पुरुष कैदीबन्दीका लागि बनेको कारागारमा तेब्बर बढी संख्यामा कैदीबन्दी बस्दै आएका थिए । त्यस्तै कारागारभित्र खान–बस्नका साथै वर्षातमा पानी चुहिने समस्या थियो भने सुरक्षाकर्मी बस्ने भवनसमेत जीर्ण थियो । बर्खाको समयमा कैदीबन्दीसँगै सुरक्षाकर्मी बस्ने र सुत्ने घरहरुको छतमा त्रिपाल हालेर बस्नुपर्ने बाध्यता थियो ।

त्यस्तै कारागार प्रशासन भने अहिलेसम्म भाडामा बसिरहेको छ । महिला र पुरुष दुवै गरी ७५ जनाको क्षमता भएको कारागारको सुविधासम्पन्न भवन निर्माण भएपछि कैदीबन्दी, सुरक्षाकर्मी तथा प्रशासनलाई खान–बस्नसहित सुरक्षामा समेत सहजता हुने कारागारले जनाएको छ ।
याे पनि पढ्नुहाेस् । 

बाजुरा कारागारको नयाँ भवन निर्माण गरिने

चर्चामा

सम्बन्धित समाचार