• होमपेज
  • बडिमालिका
  • बाजुरामा पहिलोपटक जिल्लाव्यापी पशुचौपाया खोप अभियान सञ्चालन

बाजुरामा पहिलोपटक जिल्लाव्यापी पशुचौपाया खोप अभियान सञ्चालन

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य

  • सोमवार, पुस २१, २०८२
बाजुरामा पहिलोपटक जिल्लाव्यापी पशुचौपाया खोप अभियान सञ्चालन

बाजुरा—बाजुरा जिल्लामा पहिलोपटक जिल्लाव्यापी रूपमा पशुचौपाया खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले पहिलोपटक जिल्लाव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको कार्यक्रम अनुसार जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा देखिने विभिन्न रोगको रोकथाम तथा पशु स्वास्थ्य सुधारमा ल्याउने उदेश्यका साथ अभियान सुरु गरिएको जनाएको छ ।

May be an image of text that says 'আ Lifeline Lifelind'

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले पशुचौपायामा देखिने विभिन्न रोगको रोकथाम गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरी खोप अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । आइतवार नौ वटै पालिकाहरुलाई विभिन्न प्रकारको खोप हस्तान्तरण गरिएको र आज अर्थात सोमवारबाट जिल्लाव्यापी एकसाथ खोप अभियान सुरु गरिएको उनले बताए ।

जिल्लाको पूर्वीउत्तरी भेगका पालिकामा कार्यालय प्रमुख जैशी र दक्षिणी भेगका पालिकामा पशु स्वास्थ्य प्राविधिक भीम बहादुर दानी सहितको टोली पुगेर खोप लगायत आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । भेटेरिनरी अस्पतालले स्थानीय तहहरुसँग समन्वय गर्दै पहिलो चरणमा पशुचौपायालाई लगाइने विभिन्न किसिमको करिब ५० हजार भन्दा बढी डोज खोप जिल्लाभर पठाइएको छ । यस्तै उक्त खोप अभियानमा जिल्लाभर २८ जना खोपकर्ता र पशु प्राविधिकहरुलाई परिचालन गरिएको छ ।

त्यस्तै स्थानीय तहका जनप्रतिनिधिहरुले भेटेनरी अस्पतालले सुरु गरेको खोप अभियान महत्वपूर्ण कार्यक्रम भएकाले कृषकहरुलाई राहत हुने भन्दै त्यसका लागि सहयोग गर्न आफूहरु सकारात्मक रहेको बताएका छन् । उनीहरुले अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । यस्तै पशुपालन याँहाको मुख्य जीविकोपार्जनको आधार भएकाले पशु स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा समेत जोड दिएका छन् ।

May be an image of lighting and text

उक्त खोप अभियानअन्तर्गत गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपायाहरुलाई निःशुल्क रूपमा आवश्यक खोप लगाइँदैछ । विशेष गरी पछिल्लो समय जिल्लामा देखिन थालेका पिपिआर, छमासे, लम्पी स्किन रोग, खोरेत लगायतका रोगको जोखिम न्यूनीकरण गर्दै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख जैशीले बताए । उनले करिब तीन महिनासम्म नौ वटै स्थानीय तहका प्रत्येक वडामा पुगेर पशु चौपायलाई खोप लगाइने र यसबाट जिल्लामा पशुचौपायको एकिन विवरण समेत प्राप्त हुने बताएका छन् । कार्यालय प्रमुख जैशीले भने “बाजुरा जस्तो दुर्गम र भौगोलिक रूपमा विकट जिल्लामा समयमै खोप सेवा नपुग्ने जस्ता समस्या किसानहरुले भोग्दै आएका छन् तर यस वर्ष पहिलोपटक जिल्लाव्यापी रूपमा गाउँमै पुगेर खोप अभियान सुरु भएको छ ।”

पहिलोपटक अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन भएसँगै जिल्लाका किसानहरुले पनि खुसी व्यक्त गरेका छन् । नियमित खोप नहुँदा पशुचौपाया मर्ने, दूध तथा मासु उत्पादन घट्ने समस्या भोग्दै आएका किसानहरूलाई अहिले निःशुल्क र सहज रूपमा खोप सेवा पाउँदा ठूलो राहत मिलेको छ ।

कुन खोप कुन पालिकामा कति पुग्यो ?

May be an image of one or more people, motorcycle, mountain, road and text

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले खोप अभियान सञ्चालनका लागि पहिलो चरणमा विभिन्न खोपसहित सामग्रीहरु सबै स्थानीय तहमा पठाएको छ । जसमा हिमाली गाउँपालिकामा पिपिआर खोप ६ हजार डोज, खोरेत ४ हजार, लम्पी स्किन ५ सय डोज खोप, स्वामीकार्तिक खापर गाउँपालिकामा पिपिआर ६ हजार, खोरेत एक हजार ५ सय र लम्पी स्किन ५ सय डोज खोप सहित लजिष्ट्रिक सामग्रीहरु पठाइएको छ । त्यस्तै जगन्नाथ गाउँपालिकामा पिपिआर ६ हजार, खोरेत एक हजार ५ सय, लम्पी स्किन ५ सय डोज, बुढीनन्दा नगरपालिकामा पिपिआर ६ हजार, खोरेत एक हजार ५ सय र लम्पी स्किन एक हजार डोज खोप सहित लजिष्ट्रिक सामग्रीहरु हस्तान्तरण गरिएको जनाएको छ ।

त्यस्तै बडीमालिका नगरपालिकामा खोरेत २ हजार डोज खोप, गौमुल गाउँपालिकामा पिपिआर ६ हजार, खोरेत एक हजार ५ सय, लम्पी स्किन ५ सय, त्रिवेणी नगरपालिकामा पिपिआर ३ हजार, खोरेत २ हजार ५ सय, लम्पी स्किन ५ सय, खप्तड छेडेदह गाउँपालिकामा पिपिआर ३ हजार, खोरेत २ हजार ५ सय, लम्पी स्किन ५ सय डोज खोप सहित लजिष्ट्रिक सामग्रीहरु हस्तान्तरण गरिएको छ । यस्तै बुढीगंगामा खोप भण्डारको समस्या हुँदा खप्तड छेडेदह र जिल्लाबाटै खोप सहित सामग्री लिएर खोप सुरु भएको जनाएको छ ।

जिल्लाका सबै पालिकामा खोपसहित आवश्यक सामग्री पुगेसँगै खोपकर्ता र पशु प्राविधिक खटिएर सोमवारबाट एकसाथ खोप अभियान शुभारम्भ गरिएको छ ।

May be an image of studying, table, lighting, indoors and text

चर्चामा

सम्बन्धित समाचार