
बाजुरा—आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि बाजुराबाट नेकपा एमालेका ११ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा एमाले जिल्लामा सहमति नभएपछि ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएको हो ।
एमाले जिल्ला कमिटीले सिफारिस सूचीअनुसार पार्टी केन्द्रीय सदस्यदेखि जिल्ला तहका नेताहरु समेटिएका छन् । जसमा केन्द्रीय सदस्य कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र बहादुर शाही, काशी बहादुर विक र रामलाल कार्की रहेका छन् ।
आगामी निर्वाचनमा उम्मेदवार लागि सिफारिस भएका कर्ण बहादुर थापाले चार पटक प्रतिस्पर्धा गरिसकेका छन् भने लाल बहादुर थापा २०७४ र २०७९ को निर्वाचन लडेका थिए । २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थापा २०७९ मा भने प्रदेश सभाको उम्मेदवार बनेर पराजित भएका थिए । यस्तै, सिफारिस भएका दयालबहादुर शाही विघटित प्रतिनिधि सभाका समानुपातिक सांसद तथा पूर्व केन्द्रीय हुन् । कालीबहादुर शाही एमाले प्रदेश कमिटी उपाध्यक्ष तथा जगन्नाथ गाउँपालिकाको दोस्रो कार्यकालका अध्यक्ष हुन् । बसुन्धरा रोकाया यसअघि २०६४ सालको संविधान सभा सदस्य भइसकेकी छन् । यस्तै नरेश रोकाया भने युवा पुस्ताका नेता हुन् । उनी अनेरास्ववियूको तत्कालीन महासचिव हुदैँ एमालेको ११ औं महाधिवेशनमा युवा क्लस्टरबाट सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यस्तै सहदेव बोगटीले २०७० मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका थिए । एमालेमा प्रवेश गरेपछि भने उनले कुनै चुनाव लडेका छैनन् । काशी बहादुर विक पार्टीको जिल्ला कमिटी सचिव हुन् ।
अहिले जिल्ला कमिटीले आकांक्षी उम्मेदवारको सूची सिफारिस गरेर पठाएसँगै एमाले केन्द्रले अब सिफारिस सूचीका आधारमा बाजुराबाट अन्तिम उम्मेदवार टुंगो लगाउनेछ ।
