
बाजुरा— प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा नेकपा एमालेबाट बाजुरा अटाउन सकेन । सुदूरपश्चिमका १० जनालाई समेटिदा बाजुराकाे प्रतिनिधी सुचीमा परेनन् । एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा कैलालीका चार जनासहित १० नेतालाई ११० जनाभित्र समेटेको पाइएकाे भए पनि बाजुराकाे प्रतिनिधित्व शुन्य बनेकाे छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दकाअनुसार समानुपातिक सूचीमा कैलालीबाट लीला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे परेका छन् । यस्तै, कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवाल परेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीले समानुपातिक सूचीका लागि ९ वटै जिल्लाबाट प्राप्त नामको सूचीलाई छोटो बनाएर केन्द्रीय कमिटीमा पठाएको थियो । सोही सूचीबाट केन्द्रले १० जनाको नाम समावेश गरेको हो ।
उक्त सूचीमा बाजुराबाट भने कसैकाे नाम पनि समावेश भएकाे छैन् । ९ वटा जिल्लामध्ये ५ जिल्लाबाट १० जनाकाे नाम समेटिए पनि अन्य जिल्लाबाट समावेश नभएकाे भन्दै अहिले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी समेत भइरहेका छन् ।
