
बाजुरा—सरकारले बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद्को बैठकले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारले दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । बाजुराका पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिका गरी चार वटा स्थानीय तहका नागरिकहरुले हाल नागरिकता लगायतका कामका सदरमुकाम मार्तडी पुग्नु पर्ने बाध्यता रहेको छ । त्याँहाका नागरिकहरुले नागरिकता बनाउन मार्तडी पुग्नै १५–२० हजार रुपैयाँ खर्च तथा करिब चार दिन समय लगाउनु पर्ने बाध्यता रहेको छ । मार्तडी–कोल्टी सडकमा यातायात सेवा सहज नहुनु, सर्वाधिक विकट गुम्बा, बिच्छ्या जस्ता दुर्गम गाउँ हालसम्म पनि सहज यातायातको पहुँचमा नहुँदा थप समस्या भोग्नु पर्ने बाध्यता छ । यस्तै सदरमुकामबाट पूर्वी उत्तरी भेग जोड्ने लाइफ लाइन मार्तडी–कोल्टी सडकखण्ड हरेक बर्ष बर्षातमा चार महिना पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।
वर्तमान सरकारले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै अब त्याँहा नागरिकहरुले नागरिकता, राष्ट्रिय परिचयपत्र लागयतका कामकाजका लागि मार्तडी पुग्नु पर्ने बाध्यता हट्ने भएको छ । त्याँहा इलाका प्रशासन कार्यालय स्थापना गर्न लामो समयसम्म याँहाका जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला सहितको पहल कदमीपछि उक्त प्रक्रिया कांग्रेस–एमाले नेतृत्वको सरकारले नै अगाडि बढाएको थियो । गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएर समितिले कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको थियो भने हाल सरकारले नै निर्णय गरेसँगै अब इलाका प्रशासन कार्यालय स्थापना हुने निश्चित जस्तै भएको छ ।
त्यसैगरी, सरकारले मन्त्रिपरिषद् बैठकबाट बाजुरा सहित विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । जसमा ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको, मेलौली र संखुवासभाको हिदानागढीमा स्थापना गरिने भएको छ ।
