• होमपेज
  • राजनीति
  • निष्पक्ष निर्वाचनका लागि रास्वपासँग सहकार्य गर्ने सहमति: सञ्चारमन्त्री

निष्पक्ष निर्वाचनका लागि रास्वपासँग सहकार्य गर्ने सहमति: सञ्चारमन्त्री

  • सोमवार, पुस ७, २०८२
निष्पक्ष निर्वाचनका लागि रास्वपासँग सहकार्य गर्ने सहमति: सञ्चारमन्त्री

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट प्रतिबद्धता जनाएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र रास्वपाका सभापति रवि लामिछानेसहित रास्वपा नेताहरुबिच आइतबार भएको वार्तामा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति ८ बजेदेखि सुरु भएको छलफल करिब अढाई घण्टा चलेको थियो । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, साेबिता गाैतमलगायत सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले वार्ता मुख्यतः आगामी चुनावमा केन्द्रित रहेको बताए । उनका अनुसार सरकारले निष्पक्ष निर्वाचन सम्पन्न गर्न गरिरहेको तयारीबारे रास्वपाका नेताहरूलाई जानकारी गराइएको थियो । सोही क्रममा रास्वपाले चुनावमा भाग लिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

‘आजको वार्ता चुनाव केन्द्रित भयो । निष्पक्ष चुनावका लागि सरकारले गरेको तयारीबारे जानकारी गरायौँ । रास्वपाले चुनावमा सहभागी हुन्छौँ भन्ने कुरा स्पष्ट रूपमा आएको छ,’ मन्त्री खरेलले भने ।

उनले प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच औपचारिक एकल वार्ता नभएको स्पष्ट गर्दै औपचारिक बैठकपछि करिब १०–१५ मिनेट अनौपचारिक कुराकानी भएको जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले अन्तरिम सरकार ‘जेनजी आन्दोलन’ को जगमा बनेको नागरिक सरकार भएको उल्लेख गर्दै न्याय, कानुन र विधिको शासनप्रति सरकार स्पष्ट रहेको बताए । सभापति लामिछानेसँग जोडिएका मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा उनले अदालती प्रक्रियामा सरकारले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

जेनजी आन्दोलनको सन्दर्भमा सभापति लामिछानेले चासो व्यक्त गरेको र आफूले सरकारका कामबारे जानकारी गराएको पनि मन्त्री खरेलले बताए । अन्य राजनीतिक दलहरूलाई जस्तै रास्वपालाई पनि चुनावमा सहकार्यका लागि आग्रह गरिएको र त्यसमा सकारात्मक प्रतिक्रिया आएको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार