
काठमाडौं — नेकपा एमालेका नेता कर्ण थापाले एकअर्काप्रति द्वेष र घृणाको राजनीति अनुपयुक्त भएकाले समझदारी र सहकार्यमा सबैलाई मिलाएर लाने नेतृत्व एमालेले गर्न सक्ने भएकाले नेतृत्व परिवर्तनको कित्तामा उभिएको बताएका छन् ।
एमालेको ११औं महाधिवेशनको बन्द सत्रको दोस्रो दिन भृकुटीमण्डपमा मनोनयकको क्रम चलिरहेको छ । सञ्चारमाध्यमसँग कुरा गर्दै नेता थापाले एमालेको कमिटी प्रणाली कमजोर बन्दै गएको सन्दर्भमा व्यक्ति सर्वेसर्वा हुने खाल्को परिस्थित निर्माण भएको बताए । उनले एउटा व्यक्तिको शूरवीरताले देश नबन्ने बताउँदै उनले यस्तो पाराले पार्टी नचल्ने बताए ।
‘पार्टी चलाउनका लागि सबैको योग्यता, क्षमता, योगदानलाई एकठाउँमा ल्याएरमात्रै हामीले देशका समस्या समाधान गर्न र पार्टीका आन्तरिक एकतालाई पनि कायम गर्न सक्छौं, थापाले भने, ‘त्यसका निम्ति हामी भूमिका खेल्न सक्छौं भनेर महाधिवेशनबाट नेतृत्व परिवर्तन गरौं, अहिलेसम्म जेजस्तो परिस्थिति भोग्न पर्यो हामीले भोग्न परेको पछाडिको कारणको पनि खोजी गरौं र समाधानतर्फ हामी अगाडि बढौं ।’
जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मानेका कारण प्रतिस्पर्धाबाट नेतृत्व निर्माणका लागि अघि बढेको थापाले बताए । ‘अहिले समझदारी र सहकार्यको सबैलाई मिलाएर लाने नेतृत्वको आवश्यकता छ । त्यो नेतृत्व एमालेले गर्न सक्छ भनेर हामीले नेतृत्व परिवर्तनको पक्षमा गएका छौं । र प्रतिस्पर्धाबाट यो सबै कुराको निर्क्यौल हुन्छ ।’ थापाले भने ।
अहिलेको अवस्थामा एउटामात्रै दलले सबै कुरा पार लगाउने कुरा असम्भव भएको भन्दै थापाले सम्पूर्ण गणतान्त्रिक शक्ति, लोकतान्त्रिक शक्ति, जनवादी, देशभक्त शक्ति र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने बताए । उनले युवापुस्तालाई सही दिशा दिन आवश्य रहेको बताउँदै भने, ‘उनीहरुको अपमान गरेर तेजोवध गरेर होइन । उनीहरुलाई पनि सैद्धान्तिक वैचारिक हिसाबले एकताबद्ध बनाउनुपर्छ ।’
