
बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका ९ का धर्मराज शाहले बुबा देविमान शाहको नाम स्थापना गरेको “देविमान शाह अक्षकोष” बाट विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । उक्त अक्षकोषबाट स्वर्गीय देविमानका पनाति शसांक जंग शाहको जन्मदिनको अवसरमा शैक्षिक सामग्री सहयोग गरिएको हो ।

धर्मराज शाहले आफ्ना बुबाको निधन भएपछि आफू संरक्षक रहने गरी उनको नाममा करिब एक लाख रुपैयाँ बराबरको अक्षकोष स्थापना गरेका थिए ।
आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको पठन–पाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षकोषबाट र जन्मदिनमा हुने फजुल खर्च कटौति गर्दै विद्यार्थीहरुलाई झोला वितरण गरिएको जनाएको छ ।

शसांक जंग शाहको ११ औं जन्मदिनको अवसरमा सोही वडामा रहेको त्रिपुरा सुन्दरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सामग्री सहयोग भएको विद्यालयका प्रधानाध्यापक अनिल कुमालले बताएका छन् । उनका अनुसार गत बर्ष पनि सोही विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग भएको थियो भने यस बर्ष झोला सहयोग गरिएको छ । उक्त झोला शनिवार विपन्न विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक कुमालले बताए । त्यस्तै प्रधानाध्यापक कुमालले देविमान शाह अक्षकोषप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूको नियमित उपस्थिती, सिकाइप्रति रुचि र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे। उनले दुर्गम क्षेत्रका विद्यालयहरूमा यस्ता सहयोग कार्यक्रम निरन्तर हुन सकेमा शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरे ।
देविमान शाह अक्षकोषले यसअघि पनि विद्यालय तथा विद्यार्थी लक्षित शैक्षिक सहयोग कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने संरक्षक धर्मराज शाहले बताए ।

