
काठमाडौं — एनपीएलको जारी सिजन उत्कर्षमा पुगिसकेको छ र भोलि उपाधि विजेता निश्चित हुनेछ । यतिबेला कसले एनपीएल २ को उपाधि उचाल्ला भन्ने चासो त छ नै, खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई पनि धेरैले ध्यान दिइरहेका छन् ।
समग्रतामा हेर्दा नेपाली र विदेशी खेलाडीहरूको प्रदर्शन हाराहारी नै देखिन्छ । ब्याटिङमा विदेशी खेलाडी बढी चलेका छन् भने बलिङमा नेपाली खेलाडी हाबी छन् । एनपीएलमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने व्यवस्था छ । अब फाइनल म्याच मात्र बाँकी रहँदा कार पुरस्कार कसले जित्ला भन्ने पनि क्रिकेट प्रेमीहरुले चासो राखिरहेका छन् ।
अहिलेसम्मको प्रदर्शनका आधारमा कार पुरस्कारका दाबेदार हुन सक्ने ५ खेलाडीको यहाँ चर्चा गरिएको छ:
रोहित पौडेल
सुरुमा सुस्त ब्याटिङ गरेको भनेर आलोचित रोहित कुमार पौडेलले आफ्नो यही शैलीलाई निरन्तरता दिँदै आफ्नो टिमलाई फाइनलसम्म पुर्याएका छन् । लुम्बिनी लायन्सले पछिल्लो ५ म्याचमा लगातार जित दर्ता गर्दा सबैभन्दा ठूलो योगदान कप्तान रोहितकै देखिन्छ । उनले ठूलो स्कोर बनाउन नसके पनि हरेक म्याचमा टिमका लागि महत्त्वपूर्ण रन जोडिरहेका छन् ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ९ म्याच खेल्दा २८.८८ को औसतमा २६० रन जोडे । दुईवटा खेलमा प्लेयर अफ द म्याच पनि भए । रोहितको स्ट्राइक रेट भने कमजोर (९८.११) छ । यद्यपि, उनले आफू क्रिजमा टिकेर अन्य ब्याट्सम्यानलाई ठूला हिट गर्ने मौका दिइरहेका छन् ।
पार्ट टाइम बलरका रूपमा पनि रोहित प्रभावकारी देखिएका छन् । उनले अहिलेसम्म केवल ८७ रन खर्चेर ७ विकेट हात पारिसकेका छन् । रोहितको फिल्डिङ सदाबहार उत्कृष्ट नै छ । यो अलराउन्ड प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिन सकेको खण्डमा उनी कारका दाबेदार बन्न सक्नेछन् ।
सन्दीप लामिछाने
एनपीएलको पहिलो संस्करणमा त्यति चल्न नसकेका स्टार स्पिनर सन्दीप लामिछानेले दोस्रो सिजनमा भने ‘नेक्स्ट लेभल’ प्रदर्शन गरिरहेका छन् । कुनै पनि म्याचमा ब्याट्सम्यानले उनीविरुद्ध खुलेर खेल्न सकेका छैनन् ।
विराटनगरका हरेक म्याचमा सन्दीप खतरनाक लयमा देखिए । उनी प्रतियोगितामै सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्षस्थानमा छन् । यति मात्रै होइन, उनको इकोनोमी पनि लोभलाग्दो छ । उनले एक ओभरमा औसत ४.९१ रन मात्र खर्चिइरहेका छन् । यो आँकडा जादुमयी हो । प्रतियोगितामा अन्य कुनै पनि बलरले ५ भन्दा कमको औसत मेन्टेन गर्न सकेका छैनन् ।
सन्दीपको विशेषता यो पनि छ कि उनले अहम् ओभरहरूमा बलिङ गर्दै विपक्षी टिमका महत्त्वपूर्ण विकेटहरू लिन सफल भए । उनको बलमा बाउन्ड्री निकाल्न कुनै पनि ब्याट्सम्यानहरूलाई सहज भएन । ब्याट्सम्यानहरूले सन्दीपलाई ठोक्नेभन्दा पनि रोक्ने रणनीति लिन बाध्य भए ।
सन्दीपले आफ्नो टिमलाई फाइनलमा पुर्याउन भने सकेनन् । तर, यसको दोष ब्याटिङलाई जान्छ । दोस्रो क्वालिफायरमा सन्दीपले बलिङमा आफ्नो उत्कृष्टता दिएका थिए । तर ब्याटिङ नचल्दा टिम धराशायी बन्यो । टिम फाइनलमा नपुगे पनि सन्दीप कार पुरस्कारका एक बलिया दाबेदार हुन् भन्नेमा शंका छैन ।
विनोद भण्डारी
एनपीएलका दुवै सिजनमा गज्जबको प्रदर्शन गरिरहेका ब्याट्सम्यान हुन् सुदूरपश्चिमका ओपनर विनोद भण्डारी । उनी कुनै बेला राष्ट्रिय टिमका नियमित सदस्य थिए । तर लगातार रन बनाउन नसक्दा टिमबाट आफ्नो स्थान गुमाए । एनपीएलमा भने उनको प्रदर्शनमा निरन्तर एकरूपता छ ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा दोस्रो स्थानमा छन् विनोद । उनीभन्दा अगाडि पोखराका एडम रोसिङटन मात्रै छन् । रोसिङटनलाई उछिन्ने हो भने भण्डारीले फाइनलमा ६० रन बनाउनुपर्ने छ । लुम्बिनीका कप्तान रोहित पौडेलभन्दा ४ रनले अगाडि छन् भण्डारी । यद्यपि, भण्डारीले भन्दा रोहितले एक म्याच बढी खेलेका छन् ।
भण्डारीले ३७.७१ को औसत र १११.३९ को अहिलेसम्म २६४ रन जोडेका छन् । उनको ब्याटबाट २३ चौका र ८ छक्का निस्किए । उनले दुई पटक अर्धशतक प्रहार गर्दा दुवै पटक प्लेयर अफ द म्याच बने । फाइनलमा पनि उनीबाट सुदूरपश्चिमले ठूलो आशा राखेको छ ।
दीपेन्द्रसिंह ऐरी
गत वर्ष यो पुरस्कार सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पाएका थिए । दीपेन्द्रको टिम प्रतियोगितामा उपविजेता बनेको थियो ।
यसपालि पनि दीपेन्द्र दौडमा छन् । उनले आफ्नो टिमलाई फेरि एक पटक फाइनलमा पुर्याउन सफल भए । साथमा उनको व्यक्तिगत प्रदर्शन पनि सन्तोषजनक छ । उनले ब्याटिङमा अहिलेसम्म अर्धशतक बनाउन सकेका छैनन्, तर हरेक जसो खेलमा उपयोगी रन बटुलेका छन् । अहिलेसम्म खेलेका ८ खेलमध्ये दुईवटामा उनी नटआउट रहे । एउटा म्याचमा उनी ब्याटिङमा उत्रिनु परेन । एक पटक म्यान अफ द म्याच बने ।
प्रतियोगितामा दीपेन्द्रको उच्च स्कोर ३९ रन छ, जुन समूह चरणमा काठमाण्डुविरुद्ध र कर्णालीविरुद्ध बनाएका थिए । अन्य म्याचमा उनको स्कोर छ– १५ १० (नटआउट), २४(नटआउट), १९, ३ । दीपेन्द्रले २९.८० को औसत र १४४.६६ को स्ट्राइक रेटमा रन बनाइरहेका छन् । ५ चौका र ८ छक्का हानेका छन् । फाइनलमा यो आँकडालाई अझै सुधारेर कारका लागि दावेदारी थप मजबुत बनाउने अवसर उनीसँग छ ।
अविनाश बोहरा
काठमाडौं सुदूरपश्चिमका ‘डेथ बलर’ अविनाश बोहरा पनि एनपीएलको दोस्रो सिजनमा खुबै चम्किरहेका छन् । सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा सन्दीप लामिछानेसँग उनको उछिनपाछिन चलिरहेको छ ।
अविनाशले अहिलेसम्म १६ विकेट लिएका छन् भने सन्दीप १७ विकेटका साथ शीर्षस्थानमा छन् । फाइनलमा सन्दीपलाई उछिन्ने मौका अविनाशसँग छ । यदि उनले फाइनलमा एक विकेट लिएमा सन्दीपसँग बराबरी गर्नेछन् भने दुई विकेट लिएमा उनलाई उछिन्नेछन् ।
प्रतियोगितामा सन्दीप जत्तिकै प्रभावशाली भने अविनाश छैनन् । उनले प्रतिओभर ७.७० को औसतमा रन खर्चिरहेका छन् जुन केही महँगो हो । अहम् विकेटहरू लिने सन्दर्भमा पनि उनी सन्दीपभन्दा पछाडि छन् । अहिलेसम्म कुनै पनि म्याचमा प्लेअर अफ दी म्याच बनेका छैनन् । यद्यपि, फाइनलमा उत्कृष्ट बलिङ गर्दै टिमलाई जिताएको खण्डमा भने उनी कार पुरस्कारका दाबेदार बन्न सक्छन् । नेपाल प्रेसबाट साभार
