शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • क्रिकेट
  • एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै

  • शनिबार, मंसिर २८, २०८२
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।

फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।

पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।

यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।

अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् ।

चर्चामा

सम्बन्धित समाचार